लाप्राकको नमुना बस्ती समुदायलाई हस्तान्तरण

1143
views

गोरखा, १०, बैशाख । भूकम्पपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) ले गोरखामा निर्माण गरेको बस्ती समुदायलाई बुझाइएको छ । धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीमा निर्माण गरिएको नमुना बस्ती एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष कुमार पन्तले गाउँपालिका अध्यक्ष सन्तोष गुरुङलाई घरको साँचो हस्तान्तरण गरेका हुन् । भूकम्प प्रभावित लाप्राकका ५ सय ७३ घरधुरीका लागि त्यति नै संख्यामा घर बनाइएको छ ।

गुप्सीपाखाको १८ दशमलव ३२ हेक्टर जग्गा स्वामित्वमा लिएर एनआरएनएले बस्ती निर्माण गरेको थियो । घर निर्माणको २०७३ साल कात्तिकमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेका थिए ।

एउटा घर निर्माणमा १० लाख रुपैयाँभन्दा बढी खर्च भएको गैर आवासीय नेपाली संघले जनाएको छ । एकीकृत नमुना बस्तीमा निर्माण भएका सबै घर एकै प्रकारका छन् । लाप्राक नमुना बस्ती गुरुयोजना अनुसार एनआरएनएले २ तले ४ कोठे घर बनाएको हो ।