नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने

633
views

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

इराकको बास्रा अन्तर्राष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेल जेठ १५ मा हुनेछ । नेपालले हालसम्म इराकसँग ३ पटक खेलिसकेको छ । नेपालले तीनै खेल गुमाएको छ ।

पछिल्लो पटक नेपालले विश्वकप छनोटमा इराकसँग सन् २००१ को अप्रिल २३ मा खेलेको थियो । जुन खेलमा नेपाल ४–२ ले पराजित भएको थियो ।

विश्वकप छनोट अन्तर्गत नै २००१ को अप्रिल १४ मा भएको खेलमा नेपाल ९–१ ले पराजित भएको थियो । पहिलो पटक नेपालले एसियन गेम्समा इराकसँग खेलेको थियो । १९८२ मा भएको खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।

फिफा वरीयतामा इराक ६८ स्थानमा रहेको छ भने नेपाल १७१ औं स्थानमा रहेको छ । विश्वकप छनोटको समूह ‘सी’ मा रहेको इराकले ५ खेलबाट ३ जित २ बराबरसहित ११ अंक जोडेको छ ।

बहराइन, इरान, हङकङ र कम्बोडिया रहेको समूहमा इराक शीर्ष स्थानमा छ । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ ।

नेपाल ५ खेलमा १ जित सहित ४ हार सहित ३ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।

यस मैत्रीपूर्ण नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो खेल हुनेछ । प्रशिक्षक अब्दुल्लाहले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाएको छ ।