भारतमा कोरोनाबाट एकैदिन ३६ सय बढीको मृत्यु

376
views

काठमाण्डौं, १७, बैशाख । भारतमा कोरोना संक्रमणबाट एकैदिन ३६ सयभन्दा धेरैको ज्यान गएको छ । यूके भेरियन्ट र भारतमै देखिएको नयाँ भेरियन्टसहित कोरोना महामारीको दोस्रो लहर खेपिरहेको भारतमा पछिल्लो २४ घण्टामै ३६ सयभन्दा धेरैको ज्यान गएको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै एकैदिन तीन लाख ८६ हजार आठ सयभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकैदिन संक्रमण पुष्टि र ज्यान गुमाउनेको संख्या यो अहिलेसम्मकै धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । संक्रमण पुष्टि हुने क्रमसँगै अस्पतालमा भर्ना हुने दर पनि बढेकाले अस्पतालमा बेड, अक्सिजन तथा भेन्टिलेटरको चरम अभाव भइरहेको छ । यसैबीच ब्राजिलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा २८ सय ४३ जनासहित ब्राजिलमा अहिलेसम्म चार लाख एक हजार एक सय ८६ जनाको ज्यान गएको हो । भारतपछि ब्राजिलमा पनि महामारीको सङ्कट उत्कर्षमा रहेको छ । विश्वमा अहिलेसम्म १५ करोड १० लाख जनाभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३१ लाख ७७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । १२ करोड ८४ लाखभन्दा धेरै निको भएका छन् ।