१३२ औं मजदुर दिवसमा राष्ट्रिय सभा अध्यक्षद्वारा शुभकामना

345
views

काठमाडौं, १८, बैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा १३२ औं मजदुर दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शुभकामना व्यक्त गरेका छन् । तिमिल्सिनाले नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु वक्तव्यमा भनेका छन् ।

वक्तव्यमा अहिले विश्व नै नोवल कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारणले आक्रान्त भएको छ । करिब डेढ वर्षदेखि फैलिरहेको यस भाइरसको दोस्रो लहरले विश्वभर तथा नेपालमा पनि दैनिक रुपमा यसको संक्रमण तथा निधन हुनेको संख्या बढ्दै गएको छ । श्रमिक दिवसको यस अवसरमा कोरोना संक्रमणबाट निधन हुनुभएका मजदुर एवं सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु भनिएको छ ।

उनले भाइरसबाट संक्रमित नेपाल र विश्वभरका सम्पूर्ण नागरिकको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

शुभकामना वक्तव्यमा आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हितको प्रबर्द्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको शिकागो शहरमा भएको संघर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो । सोही दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस तथा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ समेत भनिएको छ ।

शुसभकामना वक्तव्यमा कोरोना संक्रमणलाई विश्वले छिट्टै पराजित गर्दै जनजीवन सामान्य अवस्थामा फर्कने विश्वास व्यक्त गरिएको छ ।