अत्यावश्यक सेवाबाहेकका कार्यालय एक चौथाई कर्मचारीले चलाउने

492
views

काठमाण्डौं, १९, बैशाख । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सीसीएमसी) ले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाई कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ ।

केन्द्रको शनिवार सम्पन्न बैठकका निर्णयमा निषेधाज्ञा जारी भएका काठमाण्डौ उपत्यका र ठूला सहरमा बैंक तथा वित्तीय संस्थाका शाखामा एक चौथाई कर्मचारी राखेर सञ्चालन गराउने भनिएको छ । यस कार्यका लागि नेपाल राष्ट्र बैंकले सहजीकरण गर्नेछ ।

काठमाण्डौ उपत्यकाका हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने, व्यवसाय र उद्योगमा कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएको छ ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन आदि) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने, सार्वजनिक निर्माणमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माण गरिराख्ने निर्णय पनि गरिएको छ ।

ती निर्णयमा आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने गाडीका चालक र सहयोगीलाई उद्गम र गन्तव्य प्रष्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा गाडी सञ्चालन गर्नेलगायत रहेको उपप्रधानमन्त्री एवं केन्द्रका संयोजक ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

काठमाण्डौ उपत्यकाको हकमा पर्यटन र अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड तथा नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वरेण्टीनमा बस्नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाका हकमा प्रदेश र पालिकाले सम्बन्धित निकाय सम्मिलित संयन्त्र निर्माण गरी अनुगमन गर्ने निर्णय भएको छ । होम क्वरेण्टीनमा बसेकाहरूका सम्बन्धमा पालिकाले अनुगमन गर्ने, होटेल क्वरेण्टीनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल तिनका देश पठाइने प्रक्रिया अघि बढाउने भनिएको छ ।

होटेल क्वरेण्टीनको नियम पालना नगर्ने नेपालीलाई कानुनबमोजिम जरिवाना गर्ने तथा होटेल क्वरेण्टीनको व्यवस्थापनमा लापरबाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई प्रचलित कानूनबमोजिम कारबाही गर्ने उल्लेख छ ।

यसैगरी आमसञ्चारमाध्यमलाई कोभिडविरुद्धका जनचेतनामूलक सन्देश प्रसारण–प्रकाशन गर्न अनुरोध गर्ने तथा सम्बन्धित पालिकाले टोलटोलमा कोभिडविरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्ने निर्णयमा उल्लेख छ ।