लुम्बिनीमा पाँच सय ८३ स्वास्थ्यकर्मी थपिँदै

453
views

बुटवल, २३, बैशाख । लुम्बिनी प्रदेश सरकारले चार कोरोना विशेष अस्पतालमा अस्थायी रूपमा स्वास्थ्यतर्फ ५ सय ८३ स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ ।

फाईल तस्विर


लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १ सय ८९ दरबन्दी थपिँदै छन् । त्यस्तै बेलझुन्डीस्थित राप्ती प्रादेशिक कोरोना विशेष अस्पतालमा १ सय ७१, भेरी अस्पताल नेपालगन्जमा १ सय ५२ र भैरहवाको भीम अस्पतालमा ७१ दरबन्दी थप्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए ।

प्रदेश सरकारले यसअघि अस्पतालमा आईसीयू बेड विस्तार गर्न पौने २ करोड रुपैयाँ बिनियोजन गरेको थियो। उक्त बजेटबाट बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा ३६ वटा एचडीयू बेड थप गरिएको छ ।

सरकारले कोभिड नियन्त्रण तथा उपचार कोषमा १० करोड थप गरेको छ। कोषमार्फत २० करोड खर्च भइसकेको छ। अस्पतालका बिरामीको उपचार, उपकरण, औषधि, स्वास्थ्यकर्मीको जोखिम भत्ता यसैमार्फत व्यवस्थापन हुने गरेको छ ।