अस्ताए वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान

638
views

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानको निधन भएको गायक दिनेश अधिकारीले जानकारी दिए । गायक प्रधानको छातिमा सामान्य समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो । सामान्य ज्वरो र छातिमा समस्या देखिएपछि कोरोना आशंका गरिएको भएपनि उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’, ‘‘पर लैजाउ फूलहरु’, लगायतका गीत चर्चित छन् ।

८३ वर्षीय प्रधानको जन्म सन् १९३८ मा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनले विभिन्न राष्ट्रिय सम्मान पाएका थिए । २०२१ सालमा तत्कालीन राजा महेन्द्र शाहको हातबाट उत्कृष्ट गायक सम्मान, राजा वीरेन्द्रबाट २०४४ सालमा गोर्खा दक्षिण बाहु चौंथो र २०५३ सालमा विख्यात त्रिशक्ति पट्ट तेस्रोसँगै गायक प्रधानले छिन्नलता पुरस्कार, भुपालमान सिहं कार्की पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, नारायण गोपाल संगीत पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जनौ सम्मान र पुरस्कार पाएका थिए ।