पार्टी औपचारीक विभाजनमा गयो-माधव पक्ष

623
views

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टीलाई एकतावद्ध राख्ने सबै प्रयासहरु असफल भएको बताएको छ। अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको माधव पक्षका सांसद झपट रावलले बताए। उनले अब एमाले एकता सकिएको प्रतिक्रिया दिए ।

उनले ओलीको चाहनामा एमाले छिन्नभिन्न भएको पनि बताए। रावलले भने, ‘हामी सबै पार्टी एकताको लागि प्रयत्नमा थियौं। केपी ओलीबाट पार्टी एकताका लागि पहल भएन। एकताभन्दा भाँड्ने काम भयो। पार्टीलाई छिन्नभिन्न पार्ने काम भएकाले अब दुखका साथ भन्नुपर्छ सबै प्रयास असफल भए। अब सकियो ।’

माधव समूहले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री समेत रहका पार्टी अध्यक्ष ओलीलाई बिहान साढे ९ बजेसम्मको समय दिएको थियो। तर यो बीचमा ओली समूहबाट कुनै प्रतिक्रिया नआएको रावलले बताए । ‘अब एकता हुने सम्भावना सकियो भन्दा हुन्छ। पार्टी विभाजनको डिलमा उभिएको छ। हामी स्तब्ध भएका छौं ।’