ओली सरकार पूर्ण रुपमा असफल–देउवा

478
views

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै केपी ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । देउवाले वर्तमान अवस्थाप्रति सरकार गैरजिम्म्वार रुपमा प्रस्तुत भएको सरकारको कडा आलोचना गरेका थिए ।

’एक वर्षअघि सरकारले आयात गरेको स्वास्थ्य सामग्रीमाथि भ्रष्टाचार भयो । अहिले खोपमा भ्रष्टाचार भएको छ । यो भन्दा निर्लज्जता के हुनसक्छ ?’ देउवाले सोधे ’कोरोना संक्रमणबाट आजको यो भयावह अवस्था आउनुमा सरकार जिम्मेवार छ ।’ कोभिड रोकथाममा सरकारको भूमिकाप्रति देउवाले आक्रोश प्रकट गरेका थिए ।

’कमिसनको कारण खोप आउन नसक्नु सरकारको मानवीयता र गैरजिम्मेबारी मात्र होइन, अक्षम्य अपराध भएको देउवाको भनाई थियो । यस्तै संविधानका मूल मर्म भत्काउने र हुकुमी शैलीमा शासन चलाउने चरित्र प्रधानमन्त्रीमा देखा परेको उनले बताए । संसद विघटनको प्रसंग कोट्याउँदै उनले यो सरकार संविधानप्रति प्रतिवद्ध नभएको आरोप लगाए ।

देउवाले ’संसद् पुर्नस्थापनापछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उल्लेख गरे । राज्य पद्धतिलाई भत्काएर संवैधानिक निकायहरूलाई निरीह बनाउने काम भएको र अध्यादेशमार्फत शासन गर्ने प्रयास भएको वताए ।

प्रधानमन्त्रीले संसदीय पद्धति र मर्यादालाई उपेक्षा गरी लोकतान्त्रिक पद्धति, विधिलाई भत्काउने, संविधानलाई असफल बनाउने र वर्तमान राजनीतिक व्यवस्थालाई बद्नाम गर्ने काम भएको आरोप लगाए ।

यस्तै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर त्यसको मर्यादामाथि प्रहार भएको आरोप लगाए ।