मध्यतमोरको काम जारी

422
views

ताप्लेजुङ, १३, जेठ । ताप्लेजुङमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको काममा संलग्न केही मजदुरलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भए पनि निर्माणको कार्य निरन्तर जारी छ । कोभिड–१९ सङ्क्रमितबाहेकका जनशक्ति आयोजना निर्माणको कार्यमा निरन्तर खटिइरहेका हुन् ।

फुङ्लिङ नगरपालिका, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाको सिमाना भई बग्ने तमोर नदीमा बन्न लागेको आयोजनाबाट कुल ७३ मेगावाट क्षमता उत्पादन हुनेछ । कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि आयोजनामा संलग्न केही जनशक्ति पटकपटक सङ्क्रमित भए पनि निर्माणको कार्य नरोकिएको आयोजनाले जनाएको छ ।

मध्यतमोर जलविद्युत् आयोजनाका प्रबन्धक मणिराज पोखरेलका अनुसार दुई पटक गरी १४ जना जनशक्तिलाई कोरोना सङ्क्रमण भएको छ । पहिलो पटक सङ्क्रमित आठ जना सङ्क्रमणमुक्त भइसकेका छन् । दोस्रो पटक छ जनामा सङ्क्रमण देखिएपछि उनीहरू सुरक्षित रूपमा आइसोलेसनमा रहेका छन् । सङ्क्रमित मजदुरको स्वास्थ्य अवस्था पनि सामान्य रहेको पोखरेलले बताउनुभयो ।

पोखरेलका अनुसार एउटै आयोजनामा कार्यरतमध्ये केहीमा सङ्क्रमण देखिएपछि अन्यलाई मानसिक रूपमा त्यसको असर हुने भए पनि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर कामलाई निरन्तरता दिइएको छ । हाल आयोजनामा २५ जना चिनियाँसहित चार सय जनशक्ति संलग्न रहँदै आएका छन् । उक्त सङ्ख्यामध्ये २२५ जनाको पीसीआर परीक्षण गरिसकेको र बाँकीको पनि चाँडै नमुना सङ्कलन गरी पीसीआर परीक्षण गराउने तयारी रहेको उहाँले बताउनुभयो ।

यता आयोजना निर्माणको कार्य भने हालसम्म ६० प्रतिशतभन्दा बढी प्रगति भइसकेको प्रबन्धक पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार तीन हजार चार सय मिटर लम्बाइ रहेको मुख्य सुरुङको निर्माण कार्य करिब ७० प्रतिशत पूरा भइसकेको छ ।

गत वर्ष पनि कोरोना भाइरसका कारण देशभर बन्दाबन्दी भएको समयमा पनि निर्माणको कार्यलाई निरन्तरता दिएका कारण आयोजनाको काममा अपेक्षाकृत प्रगति रहेको उहाँको भनाइ छ । गोरखापत्र अनलाईनबाट