स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही होस् – प्रचण्ड

507
views

काठमाडौं, १४, जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाप्रति खेद व्यक्त गरेका छन् । अध्यक्ष दाहालले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न पनि माग गरेका छन् ।

‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि सांघातिक हमला गर्ने जो कोहीलाई पनि कानूनी कारबाही गरियोस् भनी हाम्रो पार्टी जोडदार माग गर्दछ,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।

कोभिड–१९ संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए। मृतकका आफन्तबाट भएको आक्रमणमा परि चार जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ।

जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा राति ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरूले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।