सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट होऔं– प्रदेश प्रमुख

504
views

पोखरा, १५, जेठ । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गर्नुभएको छ । १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै प्रदेश प्रमुख पौडेलले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गर्नुभएको हो ।

सन्देशमा उहाँले जेठ १५ नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन ऐतिहासिक रहेको उल्लेख गर्दैै लोकतन्त्रलाई स्थापित, संस्थागत र सुदृढ गर्नु सबैको कर्तब्य भएको बताउनुभएको छ ।

“नेपालको संविधानले परिकल्पना गरेको संङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुँदै नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरणका लागि आजको दिनले प्रेरणा दिनेछ भन्ने विश्वास मैले लिएकी छु ।”

सन्देशमा भनिएको छ “यस अवसरमा मुलुको सार्वभौमिकता स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्र्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न सबैको सहभागिताको लागि हार्दिक आव्हान गर्दछु ।”

सन्देशमा प्रदेश प्रमुख पौडेलले सङ्क्रमणबाट सङ्क्रमित भइ उपचारमा रहनुभएका र होम आइशोलेशनमा बस्नु भएकाहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै महामारीको समयमा अग्रपंत्तीमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षानिकाय तथा कर्मचारीहरूलाई सम्मान गर्र्दै अझ उच्च मनोबलका साथ निरन्तर क्रियाशिल रहन पनि आव्हान गर्नुभएको छ ।

उहाँले यस कठिन परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षा तथा उपचार कार्यलाई सहज र सर्वसुलभ बनाउन सम्बन्धित सबैपक्षको ध्यानकार्षण समेत गराउनु भएको छ ।