नेपाल समूहका तीन सांसद निलम्बित

563
views

काठमाडौं, १२, असार । नेकपा (एमाले) ले कर्णाली प्रदेशसभाका तीनजना सांसदलाई एक महिनाका लागि निलम्वन गरेको छ । शुक्रबारको एमाले प्रदेशसभा संसदीय दलको बैठकले गत वैशाख ३ गते फ्लोरक्रस गरेर मुखयमन्त्री महेन्द्रबहादुर शाहीलाई सघाएपछि निलम्बन गरिएको हो । प्रदेश सांसद अम्मरबहादुर थापा, कुर्मराजशाही र नन्दसिंह बुढालाई एक महिनाका लागि निलम्वनमा परेका हुन् । निलम्वित तीनै जना मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा छन् ।

थापाले भौतिक पूर्वाधार मन्त्रालय, शाहीले भूमि, व्यवस्था, कृषितथा सहकारी मन्त्रालय तथा बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । एमालेले आफ्ना तीन जना मन्त्रीहरुलाई हटाउन माग गर्दै असार दुई गतेदेखि निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको छ ।

पार्टी ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री शाहीको पद जोगाइदिएपछि तीन जना मन्त्रीसहित प्रकाश ज्वालालाई एमालेले संसद पद नरहने गरी कारबाही गरेको थियो। जेठ २७ गते सर्वोच्चअदालतले अन्तरिम आदेशमार्फत चारै जनालाई संसद पदमा पुनर्बहाली गरेको थियो । सर्वोच्चले पुनर्बहाली गरेलगत्तै असार १, ४ र त्यस यताका दलको बैठकमा ज्वाला सहभागी भए पनि मन्त्री बनेका तीन जना सहभागी भएका छैनन् ।

सर्वोच्चले पुनर्बहाली गरेपछि पहिलो पटक प्रमुख सचेतक गुलावजंग शाहले चारै जनालाई पत्र पठाएर असार १ गतेको दलको बैठकमा उपस्थित हुन भनेका थिए । उक्त बैठकमा ज्वाला सहभागी भए पनि तीन जना उपस्थित भएनन् ।

दलको बैठकले सरकारले ल्याउने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय ग¥यो। संसदमा तीन जना मन्त्रीहरु उपस्थित भएनन् । संसदमा उपस्थित भएर पनि ज्वाला बजेटको विपक्षमा उभिएनन् । एमालेले संसदीय दलको बैठकले तीन जना मन्त्रीहरुलाई राजीनामा दिन पनि पत्राचार गरेको थियो ।

‘एमालेका तर्फबाट मन्त्री बनेकाहरुले राजीनामा पनि नदिने र सरकारले पनि उनीहरुलाई पदबाट नहटाउने अवस्था आएपछि एक महिनाका लागि निलम्वन गरिएको हो,’ एमाले सांसद सुशील थापाले भने,‘त्यसको जानकारी प्रदेशसभालाई गराइसकेका छौं ।’ नागरिक दैनिकबाट