फैसला अघि नै सँच्चिन नेपाल पक्षलाई आग्रह

462
views

काठमाडौं, २०, असार । नेकपा एमालेको १३ औं केन्द्रीय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ । बैठकपछि मुख्य पाँच विषयमा निर्णय गरेको प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । बैठकले माधव नेपाल समुहलाई सर्वोच्च अदालतको फैसला अगावै सच्चिन आग्रह गरेको छ ।

बैठकमा नेता माधवकुमार नेपाल पक्षलाई विपक्षी गठबन्धनसँग मिलेर सरकार गठन गर्ने लगायतका विषयमा पार्टी अध्यक्ष ओलीले पुनः स्पष्ट पार्दै सर्वोच्च अदालतले फैसला गर्नु अगावै नेपाल पक्षलाई सच्चिन र पार्टी एकतालाई जोड दिन पुनः आग्रह गरिएको थापाले जानकारी दिए ।

बैठकले आगामी असार मसान्तसम्म पार्टीको सदस्यता नवीकरण गर्ने र साउन ५ गतेभित्र सबै विवरण पार्टीको केन्द्रीय कमिटीमा पठाइसक्ने प्रस्ताव अघि सारेको छ ।

एमालेका केन्द्रीय कमिटीको आजको बैठकले आगामी साउन २५ र २७ गते विधान अधिवेशन काठमाडौंमा गर्ने छलफल गरेको छ । जसमा पार्टी अध्यक्ष ओलीबाट पार्टीको राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र रामबहादुर थापा बादलको संयोजकत्वमा पार्टीको व्यवस्थापन मामिलाको प्रस्ताव अघि बढाइएको थियो ।

यसैगरी, एमाले केन्द्रीय कमिटीको तल्लो तहको अधिवेशनहरु वडा तहको आगामी भदौ ५ गते र पालिका तहको आगामी भदौ १५ गते गर्ने निर्णय एमाले केन्द्रीय कमिटीको बैठकले गरेको छ ।

यसैगरी, एमाले पार्टीको केन्द्रीय तहको ३२ वटा विभागको सदस्यहरुको नामावलीको अन्तिम रुप आगामी बस्ने एमाले स्थायी कमिटीको बैठकले निर्णय गरिने थापाले जानकारी दिएका छन् ।

बैठकले आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यवधि निर्वाचनमा जुट्न पार्टीको नेता तथा कार्यकर्तामा आवहान गरेको छ । आगामी साउनमा स्थानीय निर्वाचनका लागि जुट्न पनि एमालेले निर्णय गरेको थापाले बताए ।