साइबर आक्रमणः अमेरिकी कम्पनीहरूमा ‘भीषण’ साइबर हमला

528
views

नवदृष्टि । संयुक्त राज्य अमेरिकामा एउटा शक्तिशाली साइबर हमला हुँदा करिब २०० वटा व्यवसायहरू प्रभावित भएका छन् । साइबर सुरक्षा कम्पनी ’हन्ट्रेस ल्याब्स’ का अनुसार ह्याकरहरूले मायामिमा मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएका थिए ।

त्यसपछि उक्त फर्मको कर्पोरेट सफ्टवेयर प्रणालीबाट उक्त ¥यानसमवेअर आक्रमण फैलिएको थियो । कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको हुनसक्ने भन्दै त्यसको अनुसन्धान गरिरहेको जनाएको छ ।

कसले गरायो आक्रमण
रुसबाट उत्पत्ति भएको फिरौती उठाउने साइबर हमलाकारीहरूको समूह ’रीभील’ले उक्त आक्रमण गराएको हुनसक्ने विश्वास हन्ट्रेस ल्याब्सको छ । यसअघि उक्त समूहले मासु प्याकिङ गर्ने प्रणालीलाई ठप्प पारिदिएको आरोप अमेरिकी अनुसन्धान निकाय एफबीआइले लगाएको थियो ।

स्वतन्त्रता दिवसको सप्ताहन्तमा आफ्ना व्यवसाय बन्द गर्नका लागि अमेरिकी कम्पनीहरूले तयारी गरिरहँदा शुक्रवार अपराह्न यो आक्रमण भएको हो ।

अमेरिकाको साइबर सुरक्षा र पूर्वाधार एजेन्सीले एउटा विज्ञप्तिमा उक्त हमलालाई सम्बोधन गर्न कदम चालिरहेको जनाएको छ ।

कसेयाले आफ्नो कर्पोरेट सर्भर, डेस्कटप कम्प्युटर वा नेटवर्क उपकरण सञ्चालन गर्ने एउटा एपमा ह्याकरहरूले पहुँच कायम गरेको हुनसक्ने जनाएको छ ।

उसले ’सानो सङ्ख्यामा’ कम्पनीहरू प्रभावित भएको बताएपनि हन्ट्रेस ल्याब्सले उक्त सङ्ख्या २०० पुगिसकेको र बढ्ने उल्लेख गरेको छ ।

अहिले नै कुन कुन कम्पनी प्रभावित भए स्पष्ट भइसकेको छैन् । बीबीसीले सम्पर्क गर्दा कसेयाका प्रतिनिधिले विवरण दिन अस्वीकार गरेका छन् ।

कसेयाको वेबसाइटका अनुसार उक्त कम्पनीको उपस्थिति १० वटा देशमा छ र उसका १० हजारभन्दा बढी ग्राहक छन् ।

रुस अमेरिका साइबर तनाव
रोयर्टस समचार संस्थालाई इमेलमा जवाफ दिँदै हन्ट्रेस ल्याब्सका वरिष्ठ सुरक्षा अनुसन्धानकर्ता जन हेमन्डले उक्त साइबर हमला भीषण भएको बताए।

अमेरिका र रुसले एक अर्काका देशबाट साइबर आक्रमणको उत्पत्ति हुने गरेका आरोप लगाउने गरेका छन् । जिनिभामा अघिल्लो महिना भएको शिखर बैठकपछि अमेरिकी राष्ट्रपति जो बाइडनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई त्यस्ता साइबर आक्रमण नियन्त्रण गर्नु उनको जिम्मेवारी भएको आफूले बताएको जानकारी दिएका थिए ।

बाइडनले साइबर हमला गर्न नहुने ऊर्जादेखि पानीसम्म पूर्वाधारका १६ वटा क्षेत्रको सूची आफूले पुटिनलाई दिएको बताएका थिए ।

अहिले आक्रमणमा संलग्न भएको ठानिएको रीभील विश्वको सबैभन्दा चतुर र नाफा कमाउने साइबर अपराधीहरूको समूह हो ।

सोडीनोकीबी पनि भनेर चिनिने उक्त समूहले गएको मे महिनामा विश्वको सबैभन्दा ठूलो मासु आपूर्तिकर्ता जेबीएसको सञ्चालन ठप्प हुने गरी साइबर आक्रमण गरेको थियो ।

उक्त समूहले आफ्ना माग पूरा नगर्ने कम्पनीहरूका चोरिएका दस्ताबेज ’ह्यापी ब्लग’ भनिने उसको वेबसाइटमा राखिदिने चेतावनी पनि दिने गर्छ ।

सन् २०१९ मा टेक्ससका दुई दर्जन स्थानीय सरकारहरूमा भएका सङ्गठित साइबर हमलाहरूका लागि पनि रीभील जिम्मेवार रहेको बताइन्छ । बीबीसीबाट