‘सहमति कार्यान्वयन नभए सरकारले मुल्य चुकाउनुपर्छ’

623
views

काठमाण्डौ, २०, असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफूहरूसँग भएको सहमति कार्यान्वयन नभए सरकारले ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

विप्लव समूहद्वारा आइतवार काठमाण्डौमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वकर्माले संसदवादी दलहरूमा देखिएको राजनीतिक संघर्ष, सरकारविरुद्धको संसदीय मोर्चालगायतले सहमति कार्यान्वयनमा प्रभाव पारेको देखिए पनि त्यसमा सरकार इमानदार हुनुपर्ने बताए ।

सहमति कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटपछि भएको पत्रकार सम्मेलनमा प्रकाण्डले सहमति कार्यान्वयन भएन भने त्यसको मूल्य सरकारले चुकाउनुपर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा विश्वकर्माले भने ‘राजनीतिक संघर्ष परिवर्तनको आन्दोलन हो, हाम्रा साथीहरु नछुटे भित्रै बस्छन् आत्तिहाल्नु पर्दैन् तर, सरकारले चाँही मुल्य चुकाउनै पर्दछ । यसले हामीलाई पनि केही प्रश्न खडा गर्ला त्योभन्दा ठूलो नोक्सानी सरकारलाई नै हो ।’

प्रवक्ता प्रकाण्डले सहमतिअनुसार बन्दी बनेका आफ्ना नेता÷कार्यकर्ता छोड्न ढिलाइ भइरहँदा जनस्तरमा विभिन्न प्रश्न उठेको भए पनि सम्झौताको राजनीतिक महत्त्व घट्यो भन्ने भनाइमा सत्यता नभएको दाबी गरे ।

आईतवार प्रधानमन्त्रीसँग भएको भेटपछि उनले एउटा साझा जिम्मेवारी पनि प्रदान गरेको र आफूहरूको तर्फबाट गर्ने काम आफूहरूले गर्ने र सरकारको तर्फबाट राजन भट्टराईले गर्ने गरी जिम्मेवारी तोकिएको जानकारी दिए ।

उनले सरकार र आफ्नो पार्टीबीचको सहमति राजनीतिक मुद्दा भएकाले कुनैपनि राजनीतिक दल वा सत्तापक्ष वा प्रतिपक्षीहरू सहमतिको विरुद्ध जानुपर्ने आवश्यकता नरहेको बताए ।