एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा शुरु

301
views

काठमाडौं, २२, असार । नेकपा एमालेको विवाद समाधानका लागि गठित एकता कार्यदलको बैठक सिंह दरबारमा सुरु भएको छ । पार्टीको विवाद समाधानका लागि मंगलवार औपचारिक छलफल हुन लागेका हो । बैठकले पार्टी एकीकरणको मस्यौदा तयार पार्ने नेताहरुको भनाई छ ।

ओली र असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललाई मिलाउन दोस्रो तहका नेताहरुले अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए । उनीहरुको छलफल मार्फत समाधान हुन नसकेपछि कार्यदल मार्फत सहमतिको गृहकार्य सुरु भएको हो ।

प्रधानमन्त्री ओलीले गत ५ पुसमा गैरसंवैधानिक रूपमा संसद् भंग गर्दा खनाल-नेपाल समूह ओलीको त्यो कदमविरुद्ध भएको आन्दोलनमा सहभागी भएको थियो । ८ जेठमा दोस्रो पटक भएको संसद् विघटनको पनि नेपाल समूहले विरोध गरिरहेको छ । उक्त समुहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइपाऊँ भनी अदालतमा पेस गरिएको निवेदनमा आफ्ना सांसदलाई हस्ताक्षर समेत गराएको छ ।

कार्यदलमा दुवै पक्षका पाँच/पाँच जना सदस्य छन् । ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने खनाल-नेपालका तर्फबाट भीम रावल संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकणर् विष्ट र रघुजी पन्त छन् ।