सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो

501
views

चितवन, २२, असार । चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहले त्रिवि शिक्षण अस्पतालमा शव परिक्षण भइरहेको जानकारी दिए ।

चितवनको राप्ती नगरपालिका-३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा मृत अवस्थामा भेटिएको थियो । चितवनका एसपी ओम अधिकारीले विज्ञ चिकित्सकको समुहले पोष्टमार्टम गरिरहेको बताए ।

घरबाट हिँडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण खुल्न सकेको छैन । ब्यूरोबाट खटिएको टोली र चितवन प्रहरीले घटना अनुसन्धान गरिरहेका छन् । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने सिआईबीका डीआईजी सिंहले बताए ।

असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदिलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारको भनाई छ ।

आइतबार साँझ जंगलमा च्याउ टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।