छ दिनदेखि अवरुद्ध पर्वत–बागलुङ सडकखण्ड अझै खुलेन

784
views

पर्वत,२९, असार । भीषण पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड गएको छ दिनदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको बीचमा असार २४ गते सडकमाथिबाट आएको ठुलाठूला ढुङ्गाले अवरुद्ध बाटो खुलाउन सकस बनेको हो ।

पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्शनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोज्दासमेत नफुटेपछि सडक खुलाउन समस्या भएको छ ।

डोजरले बाटो खुलाउन नसकेपछि विस्फोटक पदार्थको प्रयोग गरेर बाटो सञ्चालन गराउनुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट नेपाली सेनालाई त्यसको जिम्मा दिइए पनि सेना समेत सफल भएको छैन् ।

सेनाको पर्वतमा रहेको केवलजङ्ग गुल्मले म्याग्दीबाट विस्फोटक पदार्थ ल्याएर सोमबारदेखि विस्फोट गराएर पहिरो पन्छाउन थालेको छ ।

सोमबार दिउँसो र साँझ दुईपटक विष्फोट गराइएको भए पनि ढुङ्गा अझै नफुटेका कारण पन्छाउन नसकिएको हो ।

विशाल आकारका ढुङ्गाहरू विस्फोटक पदार्थले फुटाएर ब्रेकर हान्न सकिने तथा डोजरले पेल्न सकिने बनाएपछि खुलाउन सहज हुने भए पनि सफल हुन नसकिएको ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए ।

दैनिक सयौँको संख्यामा सवारी गुड्ने पोखरा–बागलुङअन्तर्गत कुश्मा–बागलुङ सडक अवरुद्ध भएपछि कामचलाउ वैकल्पिक सडकका रूपमा साना सवारी साधनले अर्मादी–बगैँचाचोक–पाङ–सहस्रधारा जोडिने साँघुरो र कच्ची ग्रामीण सडक प्रयोग गर्दै आएका छन् ।