संसद्मा विश्वासको मत लिँदै प्रधानमन्त्री देउवा

435
views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदैछन् । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा देउवाले विश्वासको मत मागेका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएका थिए । देउवाले बैठकमा सम्बोधन गर्दै विश्वासको मत मागेका छन् ।

असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार कांग्रेसका सभापति देउवाले विश्वासको मत लिन लागेका हुन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कायम छन् । यो अंकगणितअनुसार नयाँ सरकारका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ । अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ (२ निलम्बित) छन् । तीनजना स्वतन्त्र हैसियतमा छन् ।