बैतडीमा साउन मसान्तसम्म निषेधाज्ञा थपियो

344
views

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीमा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो।

यसअघि खुकुलो पार्दै साउन १ देखि १५ गतेसम्म छैटौं पटक निषेधाज्ञा थपिएको थियो। आजदेखि लागु हुने गरी सातौं पटक निषेधाज्ञा थपिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधिमा स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने जनाइएको छ। निषेधाज्ञामा पसलहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्ने पाइने छ। विवाह, व्रतबन्धजस्ता कार्यक्रमहरुमा बढीमा २५ जना सहभागी हुन पाइने प्रशासनले जनाएको छ ।

बैतडीमा गत वैशाख २० गतेदेखि जारी गरिएको निषेधाज्ञामा खुकुलो पार्दै लम्ब्याइएको हो। कोरोना भाइरसको तेस्रो लहरको समेत चेतावनी आइरहेकाले सतर्क रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन्।

जिल्लामा अहिले २७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ।