कन्दाहर सहर नियन्त्रणमा लिइएको तालिबानको दाबी

584
views

काठमाडौँ । तालिबान समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहरलाई कब्जा गरेको दाबी गरेको छ । रणनीतिक एवं व्यापारिक हिसाबले समेत महत्वपूर्ण मानिएको कन्दाहर सहरमा यसअघिदेखि तालिबानको प्रभाव रहँदै आएको थियो ।

कन्दाहरमा अन्तर्राष्ट्रिय विमानस्थल पनि भएकाले तालिबानको यो विजयीलाई महत्वपूर्ण जित मानिएको छ । सहर कब्जामा लिएको विषय हालसम्म स्वतन्त्र पुष्टि नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कन्दाहरलाई गुमाएपछि तालिबानले काबुलमाथि कब्जा गर्ने रणनीति अझ बलियो हुने बताइएको छ । तालिबानले ९० दिनभित्र काबुलमाथि पकड जमाउन सक्ने सम्भावना रहेको अमेरिकी गुप्तचर अधिकारीहरुले बताइसकेका छन् । तालिबानले आक्रमण बढाउँदै गएपछि अफगानिस्तानले सेना प्रमुख पनि परिवर्तन गरेको छ ।

यसअघि तालिबानले बिहीबार राजधानी काबुलबाट १५० किलोमिटरको दूरीमा रहेको घज्नी सहरमा कब्जा गरेको थियो । यस्तै उसले हेरात सहरलाई पनि कब्जामा लिइसकेको छ ।

सहरहरु कब्जा गर्ने क्रममा तालिबानले जेलमा रहेका बन्दीहरुलाई समेत छुटाएका छन् ।

गत जुनमा अफगानिस्तानको सेना प्रमुखमा जनरल वली मोहम्मद अहमदजाईलाई नियुक्त गरिएको थियो । अफगानी राष्ट्रपति असरफ घानीले अहमदजाईको ठाउँमा जनरल हिबातुल्लाह अलिजाईलाई सेना प्रमुखका रुपमा नियुक्त गरेका छन् । त्यसअघि राष्ट्रपति घानी सुरक्षाफौजको मनोबल बढाउन भन्दै तालिबानको गढ मानिएको मजार–ए–शरिफको भ्रमण गरेका थिए ।

२० वर्ष लामो सैन्य अपरेसनपछि अमेरिकी नेतृत्वको विदेशी सेना फिर्ता भएपछि अफगानिस्तानमा तालिबानले आक्रमण बढाउँदै आएको छ । संयुक्त राष्ट्र संघका अनुसार गत महिना मात्रै तालिबान र सुरक्षा फौजबीचको झडपमा १ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको बताएको छ । त्यस्तै युनिसेफले जारी हिंसाको मारमा बालबालिका बढी रहेको बताएको छ । ई–कान्तिपुरबाट