आठ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक

349
views

काठमाडौँ, १९, असार । बौद्धनाथ क्षेत्र विकास समितिले आव २०७४र७५ का लागि रु आठ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ ।
समितिले चालु खर्चतर्फ रु तीन करोड ९५ लाख ८० हजार तथा पुँजीगत खर्चतर्फ रु चार करोड ६६ लाख विनियोजन गरेको छ । गत वर्षको मौज्दात रु दुई करोड रहेको र टिकट बिक्रीबाट मात्र रु छ करोड ५० लाख आम्दानी हुने तथा सटर बहालबाट रु चार लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ ।
पुरातात्विक, धार्मिक बौद्ध साहित्यसम्बन्धी कृति प्रकाशन, ज्येष्ठ नागरिकलाई भ्रमणलगायत शीर्षकमा रु १८ लाख छुट्याइएको छ । बौद्धनाथ क्षेत्र तथा त्यस वरपरका सम्पदाका साथै स्थानीय पूर्वाधार विकास निर्माणका कार्यमा समेत विनियोजित खर्च मध्येबाट केही रकम खर्च गरिने समितिका कार्यकारी निर्देशक फुबुयाङ्जी लामाले जानकारी दिनुभयो ।
राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय तहमा मनाइने बौद्ध धर्मका विभिन्न दिवस तथा सामाजिक कार्यमा पनि समितिले सहयोग उपलब्ध गराउँदै आएको छ ।