अफगानिस्तान : पूर्वराष्ट्रपति कारजाईले भने देश छाड्दिन

892
views

एजेन्सी, ३२, साउन । अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले आफूले देश नछाड्ने प्रतिवद्धता जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै उनले आफू राजधानी काबुलमै रहने प्रष्ट पारेका हुन् ।

अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै एकखाले आतंकको अवस्था सृजना भएको र राष्ट्रपति घानीले देश छाडेर भागेको बेला आफ्ना तीन छोरीका साथ देखिएका कारजाईले आँफु र परिवार ‘प्यारा काबुलवासी’का साथ रहेका बताएका छन् । मुलुक र देशवासीको रक्षाको जिम्मेवारी तालिबानको काँधमा आएकाले त्यसलाई होशियारीपूर्वक निभाउन कारजाईले भनेका छन् ।

उनले तालिबान र सरकारी सुरक्षाकर्मीहरुलाई नागरिकको जीउधनको सुरक्षाका लागि अपील पनि गरेका छन् ।

अमेरिकी सैन्य हस्तक्षेपपछि सन् २००१ मा देशको राष्ट्रपति बनेका कारजाई सन् २०१४ सम्म अफगानिस्तानको राष्ट्रपनि बनेका थिए । उनी एशियामै सबैभन्दा बढी समय शीर्ष पदमा रहने नेता समेत बनेका थिए ।

अहिले तालिबानको त्रासमा परेर ज्यान जोगाउन भाग्न चाहनेहरुको भीडले अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको छ । विमानस्थल पूरै अमेरिकी र नेटो सैनिकको नियन्त्रणमा छ ।

देश छाडेर भागेका घानीले राजधानी काबुलमा रक्तपातपूर्ण अवस्था नआओस् भनेर आफूले मुलुक छाड्ने निर्णय गरेको सफाई दिएका छन् ।

उनले आफू राष्ट्रपति भवनमै रहिरहँदा धेरै मानिसको ज्यान जानसक्ने अवस्था भएकाले शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण होस् भन्ने चाहेर पलायनको निर्णय लिएको तर्क गरेका छन् ।