पपुवा न्यूगिनीसँग नेपालले दुई एकदिवसीय खेल्ने पक्का

361
views

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टीमले पपुवा न्यूगिनीसँग दुई एकदिवसीय क्रिकेट खेल्ने पक्का भएको छ । नेपालले आईसीसी विश्वकप लिग–२ अघि पपुवा न्यूगिनीसँग ओमानमा दुईवटा एकददिवसीय क्रिकेट खेल्न लागेको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।

खेल आगामी सेप्टेम्बर ५ र ८ तारिख अर्थात भदौ २० र २३ गते ओमानमा हुनेछ । २० गते हुने खेल दिउँसो हुनेछ भने २३ गते हुने खेल दिन÷रातको हुनेछ । नेपालले पहिलो पटक दिन÷रात क्रिकेट खेल्न लागेको हो ।

लिग–२ अन्तर्गत नेपालले सेप्टेम्बरमा ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । सिरिजका लागि नेपालले प्रशिक्षण सुरु गरिसकेको छ । क्यानले सिरिजका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

यसअघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपाल ४ खेलमा ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।