व्यापारी अपहरण र हत्याकी सूत्राधार को हुन् जिद्दी पूजा ?

329
views

काठमाण्डौ, १९, असार । जेठ २६ गते अपहरणमा परेका दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ २१ दिनपछि मृत फेला परे । जेठ २६ गते साँझ तुलसीपुरबाट अपहरणमा परेका श्रेष्ठ असार १६ गते शुक्रबार सल्यानको छत्रेश्वरी गाउँपालिका–४, झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जंगलमा ढुंगाले हानेर मारिएको अवस्थामा फेला परे।
अपहरणको घटनामा संलग्न तुलसीपुर–१२ का २५ वर्षीय कमल उर्फ अबिरल महतरालाई प्रहरीले पक्राउ गरेपछि व्यापारी श्रेष्ठको घटनाबारे पोल खुलेको थियो। महतराले प्रहरीलाई व्यापारी श्रेष्ठको अपहरणपछिहत्या गरिएको बयान दिएपछि घटनाको पर्दाफास भएको हो।
त्यत्तिमात्रै होइन, महतराकै बयानका आधारमा प्रहरीले पत्ता लगायो–अपहरण र हत्याका प्रमुख योजनाकार पनि। व्यापारी श्रेष्ठको अपहरण र हत्याका मुख्य योजनाकार तुलसीपुर–६, स्याउली बजारका ४० वर्षीय निर्मल उर्फ टिकाराम घर्ती मगर रहेको प्रहरीले यसअघि नै बताइसकेको छ ।
व्यापारी श्रेष्ठको अपहरण र हत्या गर्ने सम्मको काममा बाबु टिकारामको योजना अनुसार नै उनकी छोरी २० वर्षीया पूजा घर्ती मगरले तानाबाना बुनेको पनि पत्ता लागिसकेको छ। प्रहरीले पैसा उठाउने उद्देश्यका साथ टिकारामले आफ्नी छोरी पूजालाई प्रयोग गरेर व्यापारी श्रेष्ठको अपहरण गरेको बताएको छ। घटनाका संलग्नमध्ये चारजना पक्राउ परेपनि मुख्य योजनाकार टिकाराम, उनकी छोरी पूजा र सल्यान झिम्पे–४ का ३५ वर्षीय मानबहादुर भण्डारी भने फरार छन्। दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरेन्द्रप्रताप सिंह मोटो रकम असुल्ने मुख्य ध्येयले नै टिकारामले आफ्नी छोरीलाई प्रयोग गरेर व्यापारी श्रेष्ठको अपहरण गरेको र त्यसपछि हत्या गरेको बताउँछन्।
बाबु टिकारामको योजनाअनुसार व्यापारी श्रेष्ठलाई आफ्नो जालमा पारेकी २० वर्षीय पूजा हत्याको घटना सार्वजनिक भएपछि प्रहरीको ‘वान्टेड’ सूचीमा छिन्। ‘मोष्ट वान्टेड’ पूजाले व्यापारी श्रेष्ठसँग कसरी सम्बन्ध विस्तार गरिन् त्यो पनि रहस्यमय नै छ। व्यापारी श्रेष्ठ २० वर्षीया युवतीसँग कहिलेदेखि सम्पर्कमा थिए भन्ने कुरा पनि उत्तिकै रहस्यमय बनेको छ। व्यापारी श्रेष्ठलाई जालमा पारेर अपहरण गर्न मुख्य भूमिका खेलेकी पूजालाई प्रहरीले खोजिरहेको छ। तर, भेट्न सकेको छैन।
व्यापारी श्रेष्ठ र पूजाको सम्बन्धका विषयमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ। श्रेष्ठको अपहरणपछि हत्या नै भएपछि भने पहिले प्रहरीले यो घटनालाई प्राथमिकतामा राखेर फरार रहेकी पूजासँगै उनका बाबु टिकाराम र मानबहादुरलाई खोजी रहेछ।
व्यापारी श्रेष्ठलाई अपहरणको जालमा पार्ने को हुन् पूजा ?
तुलसीपुर–६ स्याउली बजारकी २० वर्षीया पूजा व्यापारी श्रेष्ठको अपहरण र हत्याका मूख्य योजनाका भनिएका टिकारामकी जेठी छोरी हुन्। टिकारामका दुई छोरी र एक छोरामध्ये जेठी छोरी पूजा निकै जिद्दि खालकी युवती रहेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकारीले जानकारी दिए।
२०६८ सालमा तुलसीपुरको महेन्द्र माविबाट एसएलसी पास गरेकी पूजा कक्षा ११ मा भर्ना भएपनि कलेज भने अहिलेसम्म गएकी थिइनन्। कलिललै उमेरमा दाङको कालीमाटीका एक युवकसँग बिहे गरेकी पूजा केहीसमय यता सम्बन्ध विच्छेद गरेर बाबु आमासँगै बस्दै आएकी थिइन्।
घर परिवारलाई सधै ढाँट्ने, चलकपट गर्ने र त्यसै बरालिएर हिड्ने गरेको पनि प्रहरीले अनुसन्धानका क्रममा भेटाएको छ। ठूलो महत्वकांक्षा बोकेकी पूजा पछि बाबु टिकारामले भनेको कुरामा हिडेको देखिएको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पूजा खराब आचरण भएकी युवती भएको पनि पाइएको छ।

तीन महिने ‘प्लानिङ’पछि अपहरण
व्यापारी श्रेष्ठको अपहरण टिकारामले तीन महिनाको प्लानिङपछि गरेको पनि प्रहरीले जनाएको छ। यद्यपी प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ। तर, प्रहरी अनुसन्धानका क्रममा पूजाले व्यापारी श्रेष्ठसँग अपहरण हुनुको डेढ महिनाअघि देखि हिमचिम बाक्लो बनाएको पाइएको छ।
‘कल डिजेल्स’ का आधारमा व्यापारी श्रेष्ठसँग करिव डेढ महिनाअघि देखि पूजा नियमित जसो फोन सम्पर्कमा रहेको देखिएको छ। अपहरण गर्दाको दिन जेठ २६ गते पूजा र व्यापारी श्रेष्ठबीच २०(२५ पटक फोनमा सम्पर्क भएको पनि तथ्य पत्ता लागेको छ। बाबुकै योजना अनुसार व्यापारी श्रेष्ठलाई पूजाले सल्यान घुम्न जाऊ भनेर प्रस्ताव राखेकी थिइन्। पूजाको प्रस्ताव अनुसार व्यापारी श्रेष्ठ घर पुगेर बा ११ च १०७१ नम्बरको कार लिएर निस्किएको पाइएको छ। वीरेन्द्र चोकमा कुरिरहेकी पूजालाई गाडीमा राखेर सल्यानतर्फ लागेका व्यापारी श्रेष्ठलाई बीचबाटोबाटै अपहरण गरेर जंगलतिर लगिएको थियो।

तीन करोड रुपैयाँ फिरौती दिन परिवार सहमत भएपनि जंगलमा तीन दिन राखेपछि मधुमेहका बिरामी श्रेष्ठ अचेत भएर लडेको र मुख्य योजनाकार टिकाराम आइ नपुगेपछि त्यही छोडेर हिड्दा पछि फसिने डरले अपहरणकारीले ढुंगाले थिचेर हत्या गरेका थिए।

विदेश जाने भनेर सेनाको जागिर छोडेका थिए टिकारामले
व्यापारी श्रेष्ठको अपहरण र हत्याको घटनाका प्रमुख योजनाकार टिकारामले दुई वर्षअघि मात्रै नेपाली सेनाको जागिर छोडेका हुन्। २०५९ सालमा सेनामा भर्ना भएका टिकाराम १३ वर्षपछि २०७२ सालमा विदेश जाने भन्दै उपदान लिएर जागिर छोडेका थिए। प्रहरीका अनुसार सेनाको जागिर छोडेका टिकारामले जापान जान दलालीलाई १० लाख रुपैयाँ दिए।

तर, दलाली फरार भएसँगै १० लाख रुपैयाँ डुबेपछि उनी घर पेन्टिङको काम थालेका थिए। ‘घर पेन्टिङको काम गर्दा सोचे अनुसारको पैसा कमाउन नसकेपछि उनी पैसा असुलीको काममा लागेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नेपालखबरसँग भने। हालसालै उनले तुलसीपुर–६, मा टिनको तीन कोठे टहरो बनाएको पाइएको छ। प्रहरीका अनुसार टिकारामले घर बनाउन लागेको खर्च र दलालीलाई बुझाएको मध्ये तिर्न १० लाख मध्येको गरी ७ लाख रुपैयाँ ऋण तिर्न बाँकी देखिएको छ।

फसेको पैसा उठाउन काठमाडौं जान्छु भनेर निस्किएका थिए टिकाराम
प्रमुख योजनाकार टिकाराम व्यापारी श्रेष्ठको अपहरण गर्नु भन्दा एक दिन अगाडि घरबाट काठमाडौं जान्छु भनेर निस्किएको पाइएको छ।

टिकारामले आफू जापान जान भनेर दलाललाई बुझाएको १० लाख रुपैयाँ उठाउन काठमाडौं जान्छु केही दिनमा फर्किन्छु भनेर व्यापारी श्रेष्ठको अपहरण गर्नु भन्दा एक दिन अघि घरबाट निस्किएका थिए।
प्रहरीले टिकारामकी श्रीमती तारा घर्तीसँग गरेको सोधपुछका क्रममा उनकी श्रीमतीले आफूलाई घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरेपछि मात्रै थाहा पाएको बताएकी छिन् । नेपालखबरबाट