जापानबाट आयो थप दुई लाख ८० हजार डोज अस्ट्राजेनेका

60
views

काठमाण्डौं, ५, भदौ । जापानले दिएको थप दुई लाख ८० हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।

१६ लाख डोजमध्ये आठ लाख बढी खोप यसअघि नै आइसकेको छ । अब बाँकी खोप पर्सि सोमवारसम्म आइपुग्नेछ । यस्तै बुधवार र बिहीवार गरि चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुगेको छ । नेपालले साइनोफार्म कम्पनीसँग खरिद गरेको ६० लाख डोजमध्ये पछिल्ला दुई दिनमा १६ लाख मात्रा खोप आइपुगेको हो ।

काठमाण्डौमा हिजोदेखि १८ वर्षमाथिका कक्षा ११ र १२ मा पढ्ने तथा विश्वविद्यालयका विद्यार्थीलाई परीक्षाको प्रवेशपत्र देखाएर भेरोसेल खोपको पहिलो डोज दिन थालिएको छ । यस्तै ४० वर्षमाथिका नागरिकलाई पनि खोपको पहिलो मात्रा दिइएको छ ।

देशका अरु ठाउँमा पनि जिल्ला र पालिकाको समन्वयमा खोप अभियान चलिरहेको महाशाखाले जनाएको छ । अबको खोप प्रदेश–१ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ ।