विपक्षी एमाले सांसदले गरे बहिष्कार, लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

387
views

बुटवल, ७, भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ मत र विपक्षमा शून्य मत परेको छ ।

उपसभामुख कृष्णी थारु तटस्थ बसिन् । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

प्रदेशसभाका ८० सांसदमध्ये सोमबार मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुँदा ४३ जना प्रदेशसभा सदस्यमात्र उपस्थित गिए । मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक भने प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको थियो । त्यसैले विपक्षमा मत नपरेको हो ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेकपा एमालेले मुख्यमन्त्रीलाई समर्थन गर्ने अजय शाही र विमलाकुमारी खत्री वली आफ्नो दलको सांसद रहेको दावी गर्दै दलको ह्वीप नमानेकोले निष्कासनको कारबाही गरी पदमुक्त गर्न प्रदेशसभामा जानकारी गराएका थिए ।

सभामुख पूर्णबहादुर घर्तीले उनीहरु एमाले सांसद रहेको पुष्टि नभएको भन्दै कारबाही गर्न अस्वीकार गरेका थिए । तर, शाहीले नेकपा एमाले र माओवादी केन्द्र अलग भएपनि आफूले माओवादी केन्द्र रोजेको दावी गरेकी छन् ।