एमसिसि खारेजीका लागि संयुक्त संघर्ष समितिको अनुरोध !

724
views

-नारायण शर्मा
केही समययता एमसिसिको राष्ट्रघाती स्वरूप र सार दुवै उदाङ्गो हुँदै गएपछि यसको विरोधले तीव्र, व्यापक र निर्णायक रूप लिन थालेको छ । तत्पश्चात् एमसिसि पक्षबाट आफ्नो पक्षमा लविङ, काउन्सिलिङ र कन्भिन्सिङ स्वरूप विभिन्न हरकतहरू अघि बढाइएका छन् ! यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको कुरा अवगत गराउन चाहन्छौं । एमसिसिको पक्षमा पछिल्लो र प्रभावकारी अस्त्रको रूपमा मिडियाहरूलाई परिचालन गर्ने क्रममा उनीहरूलाई मोटो रकमका विज्ञापनहरू दिएर प्रचार–प्रसार गराउन थालिएको छ । हामी सर्वप्रथम एमसिसि संसदबाट अनुमोदन नहुँदै यसलाई कार्यान्वयन गर्ने–गराउने सन्दर्भमा भैरहेका र हुने सम्पूर्ण गैरकानुनी गतिविधिहरू रोक्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं ।

नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, शान्ति र समृद्धिविरोधी भएकोले इतिहासमै सर्वाधिक विवादास्पद समेत रहेको चरम राष्ट्रघाती यो एमसिसिको पक्षमा नेपाली जनताको खुनपसिनाबाट सङ्कलित राजश्व अनधिकृत रूपमा गैरकानूनी ढङ्गले खर्च गरी विज्ञापन गराउने कार्य घोर आपत्तिजनक छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय सरकारी–गैरसरकारी क्षेत्रबाट भैरहेको यस्तो राष्ट्रहित र जनआवाज विपरीतका कदमको हामी तीव्र निन्दा र भत्सर्ना समेत गर्न चाहन्छौं । साथै, देस र जनताप्रति जिम्मेवार र जवाफदेही मिडिया र मिडियाकर्मीहरूलाई पनि आफ्नो सिमित, सङ्कीणर् र सङ्कुचित स्वार्थभन्दा माथि उठेर देस र जनताको बृहत्तर हितमाथि ध्यान दिंदै एमसिसिको पक्षका विज्ञापनहरू प्रचार–प्रसार नगरिदिनुहुन हामी औपचारिक रूपमा समेत हार्दिक आग्रह गर्न चाहन्छौं !

यस सन्दर्भमा यसप्रकारको विज्ञापन दिइरहेको देसकै ठूलो र लोकपृय मिडिया एपि वान टेलिभिजनले जनताको यो आग्रहपूर्ण असहमतिलाई मध्यनजर गर्दै आफूले एमसिसिको पक्षमा दिंदै आएको विज्ञापनलाई हटाउने निणर्य गरेको छ ! हामी एपि वान टिभिको यो जिम्मेवार निणर्यको हार्दिक स्मरण, स्वागत र सराहना गर्दछौं ! यसैगरी यस्तो विज्ञापन प्रकाशन र प्रसारण गरिरहेका मिडियाहरूलाई पनि यसअघि प्रचार–प्रसार गर्दै आएका ती विज्ञापनहरू अविलम्ब खारेज गर्न हार्दिक अनुरोध गर्दछौं । साथै, अब यसप्रकारका विज्ञापनहरू तयार पनि नगर्न हामी सम्बन्धित सङ्घ–संस्था, व्यक्ति–व्यक्तित्व र प्रतिभाहरू सबैसँग विनम्र आग्रह गर्दछौं । हाम्रो यो राष्ट्रहितको आग्रहलाई कदर गरेर यहाँहरूले देस र जनताको उदात्त हितमा टेवा पुराउनुहुन पनि हामी यहाँहरू सबैलाई विशेष अनुरोध गर्दछौं !

स्मरण रहोस्, हाम्रो यो अनुरोधलाई अनास्था र बेवास्ता गरी एमसिसिको पक्षका विज्ञापन निर्माण गर्ने, प्रचार–प्रसार गर्न दिने र प्रकाशन–प्रसारण गर्ने–गराउनेलगायतका एमसिसिको कार्यान्वयनसँग सम्बन्धित विभिन्न कामकार्वाहीहरू गर्नु–गराउनु अक्षम्य हो । नेपालमा यो राष्ट्रघाती एमसिसि सम्झौता हठात् र बलात् थोपर्ने वैदेशिक दलालहरूको गुरुयोजनामा साथ दिने दुस्साहस गरी देसलाई विदेसीहरूको कृडास्थल र रणस्थलमा परिणत गर्न चाहने जोकसैमाथि देसका सचेत र जिम्मेवार राजनीतिक शक्ति र सामाजिक सङ्घसंस्था तथा सचेत र स्वतन्त्र जनसमुदायमार्फत् जनआक्रोश अभिव्यक्त भएमा त्यसको सहन र सामना पनि सम्बन्धित पक्ष स्वयम्ले नै गर्नुपर्ने हुन्छ भन्ने चेतावनी समेत दिन चाहन्छौं !
सहयोगको लागि पूर्ण विश्वाससहित धन्यवाद !!
संयोजक
एमसिसि खारेजीका लागि
संयुक्त संघर्ष समिति,
नेपाल ।