क्रान्तिनायक गोन्जालोको निधन

620
views

काठमाडौं, २७ भदौ । पेरु क्रान्तिका नायक अबिमेल गुजम्यान गोन्जालोको जेलभित्रै निधन भएको छ । ८६ वर्षको उमेरमा गोन्जालोको निधन भएको हो । सन् १९९२ देखि पेरु सरकारले आजीवन कारावासको सजायँ दिएको थियो ।

दार्शनिक नेता गोन्जालो विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन् । उनको जन्म सन् १९३४ मा पेरुको दक्षिण तटमा अवस्थित मोलेन्डो शहर नजिक भएको थियो ।

सन् १९९० को दशकमा पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष गोन्जालोको नेतृत्वमा जनयुद्ध सुरु भएको थियो । गाउँदेखि शहर घेर्ने रणनीति अन्तर्गत सो क्रान्तिले पेरुका अधिकांश गाउँ र केही मुख्य शहरहरुसमेत कब्जा गरेको थियो । साइनिङ पाथ राजधानी लिमासहित केन्द्रीय सत्ता पनि कब्जा गर्ने उद्देश्यको नजिक पुगिसकेको थियो ।

यसैक्रममा सन् १९९२ सेप्टेम्बर १२ तारिखका दिन राजधानी लिमा शहरको एक घरबाट गोन्जालो पक्राउ परेका थिए । उनलाई सैनिक जेलमा थुनेर आजीवन काराबासको सजायँ सुनाइयो । दोस्रो र तेस्रो तहसम्मका नेताहरु पनि पक्राउ परे ।

सन् १९८१ बाट शुरु भएको पेरुको कम्युनिष्ट क्रान्तिले गम्भीर धक्का खायो । सन् १९९५ सम्म केन्द्रीय सत्ता कब्जा गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरिसक्ने योजना सफल हुन सकेन । तर पनि पेरुमा १९९९ सम्म चलेको जनयुद्धको क्रममा ७० हजारको ज्यान गएको थियो ।