‘सामान्य अवस्था वा कोभिड महामारी, बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’

539
views

काठमाण्डौ, २९, भदौ । आज ५७ औं राष्ट्रिय बाल दिवस । ‘सामान्य अवस्था वा कोभिड महामारी, बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ५७ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई भविष्यका जिम्मेवार नागरिक बनाउनु राज्यको दायित्व भएको बताउनुभएको छ । उहाँले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न तीन तहका सरकार, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोरोना विरुद्धको खोप दिन सरकार पूर्ण प्रयासरत रहेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना संदेशमार्फत उहाँले कोरोनाबाट प्रभावित बालबालिकाका लागि हरेक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याको व्यवस्था गरिएको बताउनुभयो ।