आज हरिशयनी एकादशी पर्व मनाईदै

341
views

पर्वत, २० असार । आज हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइँदैछ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वास गर्दै हरिशयनी एकादशी पर्व मनाउने प्रचलन छ ।
जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका दिन घर घरमा राखिएको तुलसीको विरुवा रोपी चार महिनासम्म विधिपूर्वक पूजा पनि सुरु गरिन्छ । कात्र्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म भगवान् विष्णु शयन गर्नुहुने भएकाले त्यसदिनसम्म विधिपूर्वक तुलसीको पूजा आराधना गरिन्छ ।
चतुर्मास समेत भनिने यी चार महिनामा तुलसीको पूजा गरे मनकामना पूरा हुने विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
यो चारमहिनासम्म व्रत बस्नेले निश्चित विधि पालना गर्नुपर्छ, जसअनुसार साउनमा साग, भदौमा दही, असोजमा दुध र कात्तिकमा दुई दल भएर उम्रने चीजबीज खानु नहुने कुरा ‘निर्णय सिन्धु’, ‘हेमाद्री’ र ‘वीर मित्रोदय’ लगायत ग्रन्थमा उल्लेख गरिएको छ”–उहाँले भन्नुभयो ।
असारदेखि कात्तिकसम्म ‘चतुर्मास माहात्म्य’ पाठ गर्ने र कथा वाचन एवम् श्रवण गर्ने परम्परा छ । जेठ शुक्ल एकादशीका दिन बीउ रोपी आजका दिन सारिएको तुलसीलाई छोरीका रुपमा घरमा हुर्काई बढाई हरिबोधिनी एकादशीका दिन दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गर्ने गरिएको भनाइ पनि छ ।
वैज्ञानिक रुपमा बढी अक्सिजन दिने भनी प्रमाणित भएको तुलसीलाई आयुर्वे्दिक औषधिका रुपमा समेत उपयोग गरिन्छ । वैदिक कालदेखि नै पिपल, कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकस्वरुप पवित्र मानिन्छ ।