एभरेष्ट प्रिमियर लिग : प्ले अफमा चितवन, भैरहवा, पोखरा र काठमाण्डौ

474
views

पोखरा । एभरेष्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफ समीकरण पूरा भएको छ । मंगलबार हुने भनिएको काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडियटर्स बीचको खेल वर्षाका कारण अवरुद्ध बनेसंगै प्ले अफ समिकरणपनि पुरा भएको हो ।

पानीले खेल सम्भव नभएपछि दुवै टिमले १–१ अंक बाँडे । यो संगै चितवन टाइगर्स, भैरहवा ग्लाडियटर्स, पोखरा राइनोज र किंग्स–११ काठमाण्डौ प्ले अफमा पुगेका हुन् ।

लिग चरण सकिएसँगै चितवन टाइगर्स ८ अंकबाट शीर्ष स्थानमा रहन सफल भयो भने ७ अंकबाट भैरहवा ग्लाडियटर्स दोस्रो भयो । ७ अंकको पोखरा राइनोज रन रेटका आधारमा तेस्रो हुँदा ३ अंकको काठमाडौं चौथो भयो ।

अब बुधबार पहिलो क्वालिफायरमा चितवन र भैरहवाबीच प्रतिस्पर्धा हुनेछ । जित्ने टिम फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग बिहीबार दोस्रो क्वालिफायर खेल्ने छ ।

बुधबारकै इलिमिनेटरमा पोखरा र काठमाडौं दिउँसो साढे १ बजे खेल्नेछन् । यसपटक उपाधि विजेताले ५० लाख रुपैयाँ जित्ने ईपीएलको फाइनल खेल शनिबार हुनेछ । उपविजेताले १५ लाख रुपैयाँ सहितको उपाधी जित्नेछन् ।