साढे ३३ किलो सुन प्रकरण : ‘गोरे’ सहितका ६ जनालाई जन्म कैद

441
views

काठमाण्डौं, १९, असोज । साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणका मुख्य आरोपित चूडामणि उप्रेती ’गोरे’ सहितका ६ जनालाई जन्म कैदको फैसला भएको छ ।

जिल्ला अदालत मोरङले मुख्य आरोपीको आज मङ्गलवार मुद्दाको अन्तिम सुनुवाइ गर्दै अदालतले कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैदको फैसला सुनाएको हो । यस्तै एकजनालाई तीन वर्ष र एक जनालाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिइएको छ । सुन प्रकरणमा मुछिएका सबै प्रहरीले भने सफाइ पाएका छन् ।

सुन प्रकरणमा प्रतिवादीमध्ये २१ जना अझै फरार छन् । फरारका नाममा इजलासले मुद्दालाई मुलतबीमा राखेको अदालतले जनाएको छ ।

यस प्रकरणमा मुख्य आरोपी ’गोरे’ सहित ७७ जनाविरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो । अभियोग पत्रमा १७ अर्ब एक करोड ८० लाखभन्दा धेरै बिगो माग गरिएको थियो ।