भू–अभिलेख अनलाईन प्रणालीमा बारम्बार आउने अवरोधले सेवाग्राहीलाई सास्ती

720
views

पर्वत, २०, असोज । नेपाल सरकारले भूमि सुधार तथा मालपोत कार्यालयहरुमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली व्यवस्थित गर्न सञ्चालन गरेको अनलाईन सेवाको सर्भरले पछिल्ला दिनहरुमा राम्रो काम नगर्दा पर्वतका सेवाग्राहीले सास्ती भोगेका छन् ।

सरकारले जग्गा प्रशासन सम्बन्धी सेवाहरुलाई समय सापेक्ष रुपमा परिवर्तन गरी सूचना प्रविधिमा आधारित गराउन कार्यान्वयनमा ल्याएको अनलाईन माध्यमको प्रणालीमा बारम्बार आउने अवरोधले पर्वतका सेवाग्राही मर्कामा परेका हुन् ।

दिनभर भू–सेवा केन्द्र तथा मालपोत कार्यालयमा कामको पर्खाईमा बसेका सेवाग्राहीहरु अनलाईन सिष्टमले काम नगरी समयमा काम नभएपछि कतिपय सेवाग्राही आक्रोषित बन्ने गरेका छन् भने कतिपय सेवाग्राही हप्तादिनसम्म बास बस्न बाध्य भएका छन् ।

देशका सम्बन्धित मालपोत कार्यालयमार्फत भू–अभिलेख सूचना व्यवस्थापन व्यवस्थित गर्न अधिकार प्राप्त भू–सेवा केन्द्रमार्फत सम्बन्धित आवश्यक कागजात तयार गरी मालपोत कार्यालयमा पठाउनुपर्ने कागजात अधिकार प्राप्त भू–सेवा केन्द्रबाटै पठाउन नपाएपछि सेवाग्राहीले सास्ती खेपेका हुन् ।

जग्गा सम्बन्धी कामका लागि विकटबाट आएका सेवाग्राहीहरु बुधबार अनलार्ईन सेवा सिष्टमले काम नै नगरेपछि कोही सेवाग्राही शुक्रवार आउनुपर्ने भो भन्दै फर्किएका थिए भने कतिपय सेवाग्राहीहरु होटल तथा आफन्तकोमा बास बस्न बाध्य भएका थिए ।

जग्गा कारोवारका लागि काठमाडौंदेखि पर्वत आएका नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष हरिहर थापा भू–सेवा केन्द्रबाट आवश्यक कागजात तयारी गरी मालपोत कार्यालयमा बुझाउन बुधबार दिनभर अनलाईन सिष्टमको पखाईमा बसे । दिनभर सिष्टम (सर्भर) ले काम नगरेपछि साँझ पाँच बजे उनी लगायतका सेवाग्राहीहरु काम नै नगरी फर्किन बाध्य बने ।

विहिबार घटस्थापना परेको र उक्त दिन विदा भएका कारण अनलाईन सर्भरले काम नगरेपछि शुक्रवार पर्खिदै थापाले सरकारले आम नागरिकप्रति लिने करले सर्वसाधारणलाई नै समस्या दिने भन्दै प्रशनचिन्ह खडा गरे । उनले भने ‘नजिकका त मालपोत आउनलाई विकट गाउँपालिकाबाट आउने सेवाग्राहीको खर्च कस्ले व्योहोर्ने ? भन्दै थापाले सरकार र सम्बन्धित निकाय जनताप्रति उत्तरदायि बन्न सञ्चार माध्यम मार्फत सुझाव दिए ।’

नेपाल सरकार सूचना तथा संचार प्रविधि विकास आयोजना अन्तर्गत ०७२ साउनबाट एशियाली विकास बैकको अनुदान सहयोगमा वेभमा अधारित आवेदनको शुभारम्भ भएको यस अनलाईन प्रणालीमा बारम्बार आउने अवरोधले सेवाग्राही मर्कामा परेका छन् ।

पर्वतका भू–सेवा सञ्चालकहरु अनलाईन प्रणालीमा सिष्टमले काम नगर्दा सेवाग्राहीले सास्ती खेप्न बाध्य भएको बताउँछन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले भू–सेवा मार्फत जग्गा सम्बन्धि काम गराउन सञ्चालन गरेको अनलाईन सेवा प्रणालीलाई समस्यारहित बनाउन नसक्ने हो भने सेवाग्राहीहरु भू–सेवा केन्द्र तथा मालपोत कार्यालयसँग अनावश्यक आक्रोषित हुनुपर्ने अवस्था आउनसक्नेतर्फ विभाग समयमा नै सचेत हुन जरुरी रहेको सरोकारवालाहरुको भनाई छ ।