लघु कथा : “जिब्रो र दाँतको झगडा”

259
views

–भुमिराज शर्मा
एक दिन अम्बा खाँदै गर्दा झुक्किएर दाँतले जिब्रो टोक्न पुग्यो । टोकाईले गर्दा जिब्रोबाट अलिकति रगत पनि आयो । धेरै बर्ष अघि देखि मिलेर बसेका जिब्रो र दाँतहरु बीच यहि कारणले गर्दा बिबाद शुरू भयो ।

जिब्रोले रुदै दाँतलाई भन्यो ––“ तिमीले मलाई धोका दियौ । तिमीले जानी जानी मलाई टोक्यौ । मेरो रगत आई रहदा पनि तिमीहरु हासिरहेका छौ । पख ! तिमीहरुलाई दुख पर्दा मैले पनि रमिता हेर्नेछु ।“

जिब्रोको यति कुरा सुनेपछि दाँतलाई रिस उठ्यो । दाँतलाई आफू जिब्रो भन्दा बलियो भएको घमण्ड पनि थियो । रिसाउदै दाँतले भन्यो – “तैले के गर्न सक्छस ? तँ भन्दा म बलियो छु । कडा छु । मोती जस्तै चम्किलो छु । तँ एक्लै छस् । हामी धेरै छौं । हामीलाई कसैले केहि गर्न सक्दैन । तँ हामीबाट घेरिएको छस् । तलाई हामीले जे पनि गर्न सक्छौं ।’

दाँतको यो धम्की सुनेपछि जिब्रोलाई साह्रै रिस उठ्यो । राम्रा, नम्र, शिष्ट र असल कुराहरु बोल्ने जिब्रो एका एक अभद्र र अशिष्ट शब्दहरु बोल्न थाल्यो । सबै सँग झगडा गर्न थाल्यो ।

एक दिन मूर्ख मानिस सँग झगडा गर्दै गर्दा त्यो मानिसले प्रहार गरेको मुक्का लागी जिब्रो लाई धम्की दिने दाँत सहित अगाड़ीका दुई ओटा दाँत भुईमा खसे । भुईमा झरेको दाँतलाई जिब्रोले भन्यो ––“ देख्यौ ! को बलियो रहेछ ? भुईमा झरेको दाँतको घमण्ड चकनाचूर भयो ।

कुनामा बसेर यी सबै गतिबिधि नियालेर हेरिरहेको बुद्धि बंगाराले जिब्रो र दाँत बीच बढिरहेको तनाब र क्षति कम गर्न समझदारीको लागि एउटा संयुक्त बैठक बोलायो । दुबै थरी बैठक बसे । सो बैठकमा एक छिन भनाभन चल्यो । दुबै थरीले आफ्नो घमण्ड र प्रतिशोधको कारण क्षति बेहोर्नु परेको महशुस गरे । अब आइन्दा दाँतहरुले जिब्रोलाई एक्लो देखेर नहेप्ने, रूप र बलियोपनको घमण्ड नगर्ने प्रण गरे । जिब्रोले पनि जथाभाबी नबोल्ने र झुक्किएर हुने गल्तीमा दाँत माथि कुनै शंका नगर्ने प्रतिबद्धता गर्यो ।

त्यस दिनदेखि दाँत र जिब्रो बीच कुनै झगड़ा भएन । दुबै थरी सँगै मिलेर बसे । उनीहरुको बीच प्रेम बढ्दै गयो । उमेर ढल्किदै जाँदा दाँतहरु झर्दै गए । जिब्रो लाई नरमाइलो लाग्न थाल्यो । धेरै बर्ष सँगै बसेका साथीहरु छुट्टीएर जाँदा पीडाको अनुभूति गर्न थाल्यो । वरिपरि रहेका दाँतहरु झरेपछि जिब्रोलाई जाडोको महशुस भयो । उसले स्वाद पनि कम थाहा पाउन थाल्यो । बोली बुझिन छोड्यो । उसले अन्त्यमा बाँकी रहेको र झर्ने अबस्थामा पुगेको बुद्धि बंगारोसँग आफूलाई एक्लै छोडेर नजान अनुनय बिनय गर्यो ।

त्यसै बेला बुद्धि बंगारोले गम्भिर मुद्रामा भन्यो “के गर्ने जिब्रो दाई । जून बस्तु कडा छ त्यो छिटो नास हुँदो रहेछ । तिमी भन्दा म बीस बर्ष कान्छो हूँ तर म पहिला जाँदै छु । अब म गएपछि तिम्रो रक्षा गर्ने कोहि बाँकी छैन । आफ्नो सुरक्षा आफै गर्नु । नम्र र मीठो बोली गर्नु । हामी झरे पनि तिमी धेरै बर्ष बाचिरहनु ।

यति भनेपछि बुद्धि बंगारो झर्यो । एकछिन त जिब्रोले आफूसँगै बंगारोलाई यता उता खेलायो । स्पर्श गर्यो । तर ऊ मरिसकेको थियो । केहि समयपछि भाव बिह्वल हुँदै पातीको गाँजमा लगेर अंत्येष्टी गरेर फर्क्यो । त्यो दिन उसले खानामा रत्तिभर स्वाद पाएन । त्यसै टोलाइ रह्यो ।

मित्रहरू, अहिले सामाजिक सञ्जालमा शिक्षित भनिएका व्यक्तिहरूबाटै यस्तै किसिमका व्यवहारहरु बग्रेल्ती भेटिन थालेका छन् । कुनै विषयमा कुनै निर्णय आफू अनुकूल नहुँदा अराजक शैलीमा प्रस्तुत हुने अनि आफ्नो स्वार्थ अनुकूल भयो भने चरम दलाली गर्ने जून प्रवृत्ति देखिएको छ त्यो निकै हानिकारक छ ।

यो ख्याल गरौँ कि सामाजिक सञ्जाल तपाईं हाम्रो संवेगहरुको मापन गर्ने साझा मञ्च पनि हो । आज आवेगमा पोस्ट गरेका विचारहरुले भोलि आफैलाई कुरी कुरी नगरुन् । जय होस् !!!

पत्रकार एवं शिक्षक भुमिराज शर्माको यो लघु कथा तपाईलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला ।