पर्वत अस्पतालबाट विदाई भए पहाडी

कस्को कार्यकालमा कस्तो विकास ?

2551
views

गोपाल जिसी
पर्वत, २३, असोज । पब्लिक कुश्मा हेल्थ सेन्टरबाट २०४६ साल माघ १६ गते १५ बेड क्षमताबाट स्थापना भएको हालको पर्वत जिल्ला अस्पताल २०७८ सालमा ५० वेड क्षमतामा विकास भएको छ ।

तात्कालिन पञ्चायत सभापति पदेन सदस्य रत्न वहादुर गुरुङ, नेपाली काँग्रेसबाट यम प्रसाद गुरुङ, नेकपा एमालेबाट जिविस सभापति पदेन सदस्य गणेश तिमिल्सिना, नेपाली काँग्रेसबाट लालकाजी गुरुङ, एमालेबाट शिव प्रसाद पौडेल, काँग्रेसबाट राधा कुँवर क्षेत्रीले १५ वेडलाई विस्तार गर्न सकेनन् ।

प्रचण्ड नेतृत्वको माओवादी र केपी शर्मा ओली नेतृत्वको एमालेको एकतापछि नेकपाबाट पर्वत अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ति भएका गोविन्द पहाडीले अस्पताललाई ५० वेड क्षमतामा वृद्धि गर्न सफल भएका छन् ।

तीनवर्षे कार्यकाल सकेर शुक्रवार विदाई भएका अध्यक्ष गोविन्द पहाडीले संघ, प्रदेश, स्थानीय सरकार, व्यक्ति तथा संघ संस्थाहरुसंगको सहयोग÷सहकार्यमा अत्याधुनिक उपकरण र प्रविधियुक्त मेशिनहरुको व्यवस्थापन गरे अस्पतालले नयाँ रुप लिएको छ ।

पछिल्लो तीनवर्ष यता पर्वत जिल्ला अस्पतालमा ५० शैयाको अत्याधुनिक भवन निर्माणाका लागि ३१ करोड, क्वाटर निर्माण गर्न २ करोड १३ लाख, प्रशासकीय भवन निर्माणका लागि ९८ लाख, अस्थायी ईनडोर भवन निर्माणका लागि ८४ लाख, आई सी यु कक्ष स्थापना, ट्रान्सफर्मर जडान, आईसोलेसन कक्ष निर्माण गर्न ४० लाख, हेल्प डेक्स तथा सुरक्षा एकाई निर्माण पाँचलाख, खानेपानी योजना निर्माणका लागि ९० लाख रुपैया बजेट भित्रिएको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।

पर्वत जिल्ला अस्पतालमा अपरेशन सेवा, जटिल प्रसुती, हर्निया, एपेन्डिक्स, भ्यासेक्टोमी तथा हाईड्रोशिल लगायत अन्य अपरेशन हुन थालेको छ । अस्पतालले अत्याधुनिक एनेस्थेशिया मेशिन, प्रयोगशाला सेवा, थाईराईड, भिटामिन डि, कल्चर गर्ने उपकरण, डिजिटल प्रविधिबाट एक्सरे सेवा, १०० एम ए को एक्सरे सेवालाई अत्याधुनिक फुल्ली डिजिटल प्रविधि सहित गुणस्तरिय सेवा प्रदान गर्न थालेको छ ।

पर्वत जिल्ला अस्पतालमा अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा, मृगौला डायलासिस (डायलासिस गर्ने विरामीलाई निःशुल्क रगतको व्यवस्था, मुटुको ईको परिक्षण, दाँत उपचारमा विशेषज्ञ सेवा, एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना लैङ्गिक, घरेलु तथा अन्य प्रकारको हिंसामा परेका महिला तथा बालबालिकाहरुको निःशुल्क उपचार, ५ बेड आई सी यु र ८ वटा अत्याधुनिक भेण्टिलेटरसहितको सघन उपचार कक्ष स्थापना भएको अस्पतालले जनाएको छ ।

चालु वर्षमा मात्रै ५०० जनाले सुत्केरी सेवा लिए, १०२ सुत्केरीले अपरेशन सेवा पाएको, दैनिक १५ जनाले मिर्गाैला डाईलाईसीस सेवा लिइरहेको तथा थाइराइड, मुटुरोग लगायतका २०० भन्दा बढी विरामीले प्रत्येक दिन उपचार गराइरहेका छन् ।

अस्पतालमा अहिले विभिन्न सेवाका १ सय ६ जना कर्मचारीहरुले काम गरीरहेका छन । निवर्तमान अध्यक्ष गोविन्द पहाडीले आँफुले अस्पतालमार्फत पर्वतवासीको स्वास्थ्य सेवामा योगदान गर्ने अवसर मिलेको पत्रकार सम्मेलनमा जानकारी गराए ।

पहाडीले आफ्नो तीनवर्षे कार्यकाल पुरागरी औपचारीक रुपमा पत्रकार सम्मेलन गरी विदाई हुँदा पर्वतवासी जनसमुदायको स्वास्थ्यप्रति निगरानी गरिरहने समेत प्रतिवद्धता जनाए ।