घान्द्रुक जिप दुर्घटनाका मृतकको शव आज बुझाइदै

536
views

पर्वत, २६, असोज । सोमबार दिउँसो साढे १ बजेतिर घान्द्रुकमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका आठ जनाको शव आज परिवारलाई बुझाउने तयारी भएको छ । ग १ ज ६९०० नम्बरको जिप उकालोमा जिपले नतान्दा ‘ब्याक’ भएर खसेकाले दुर्घटना भएको प्रहरीको निष्कर्ष छ ।

दुर्घटना भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापासहितको टोली घटनास्थल पुगेको थियो । उक्त दुर्घटनामा आठ जनाले ज्यान गुमाएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकको कलाभीरमा भएको जिप दुर्घटनामा जिपका चालक अन्नपूर्ण गाउँपालिकाको नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौंको गोंगबुबाट घुम्न गएका ५ पुरुष र २ महिला छन् ।

काठमाडौं महानगरपालिका–३ गोंगबुका १८ वर्षीय जिल्लप घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अच्युतम काफ्ले, १८ वर्षीय आशिष आलेमगर र गोरखा घर भइ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री छन् । उनीहरू दसैं बिदामा घान्द्रुक घुम्न आएका थिए ।

मृतक ८ जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले बताए ।

चालकसहित ९ जना सवार जिपमा रहेकी २० वर्षीया देविजा घिसिङको भने सकुसल उद्दार भएको छ । उनको अवस्था सामान्य छ । मृतक जिल्लप घिसिङ उनको भाइ हुन् । भीरमा अड्किएको अवस्थामा देविजाको स्थानीयले उद्धार गरेका थिए । जिपको पछाडिको ढोका खुल्दा उनी भीरको बीचको रुखमा अड्किएकी थिइन् ।

अन्नपूर्ण गाउँपालिका–१० का अध्यक्ष कुमारप्रसाद गुरुङका अनुसार बाटो बनाइरहेका मजदुरले जिप दुर्घटना भएको देखेका थिए । घान्द्रुकको हुँदु कटेपछि मुल गाउँ नपुग्दैको कलाभीरमा जिप ब्याक हुँदै खसेको थियो । झण्डै डेढ सय मिटर खसेर तल्लो बाटोमा जिप बजारिएको थियो ।