बाढीपहिरोमा मृत्यु हुनेको संख्या ८७ पुग्यो

555
views

काठमाडौँ, ४, कात्तिक । आइतबारदेखि परेको बेमौसमी बर्षाले आइतवारयता ८७ जनाको ज्यान गुमेको छ । बाढीपहिरोमा परी २८ जना अझै बेपत्ता रहेका छन् भने २२ जना घाइते छन् । बाढीपहिरोले ३० वटा घरमा पूर्ण क्षति भएको छ भने १ सय बढी चौपाया मरेका छन् । नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन् ।

पाँचथरमा पहिरोमा परी २४ जनाको मृत्यु भएको छ । त्यसपछि इलाममा पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । डोटीमा १२ जनाको पनि पहिरोले ज्यान लिएको छ । त्यस्तै पहिरोबाट कालीकोटमा एक, बैतडीमा चार, डडेल्धुरमा एक, बझाङमा दुुई, हुम्लामा छ, सोलुखुम्बुमा एक र धनकुटामा सात जनाको मृत्यु भएको छ ।

त्यसैगरी बाढीले बगाएर प्युठानमा एक, मोरङमा एक र उदयपुरमा दुुई जनाको मृत्यु भएको छ । बझाङको भेल पहिरोमा परेर अझै २१ जना हराइरहेका छन् । त्यस्तै इलामको पहिरोमा तीन, जुम्ला र प्युठानको बाढीमा तीन जना हराइरहेका छन् ।

पछिल्लो विवरणअनुसार आइतबार यता प्रदेश १ मा मात्र बाढीपहिरोले ५० जनाको ज्यान लिएको छ । यसअघि मनसुनको अवधिमा बाढीपहिरोले १२६ जनाको ज्यान लिएको थियो । बाढीपहिरोका कारण देशका विभिन्न ११ जिल्लाका प्रमुख तथा सहायक राजमार्ग अवरुद्ध भएका छन् ।

तर बुधबारसम्मको अविरल वर्षाले पूर्वी तराईका धेरै भेगमा डुबान, बाढी तथा पहिरोको जोखिम भने टरिनसकेको छैन् ।