प्रधानमन्त्रीको अन्तर्वार्ता हेरेपछि….

503
views
  • – बबिता बस्नेत
    गत सोमबार बिहानैदेखि राजनीतिमा चासो राख्ने धेरैले एक–अर्कालाई प्रायः उस्तै प्रश्न गरेको सुनियो– ‘प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तर्वार्ता हेर्नुभयो ?’ ०७४ असार १८ गते आइतबार साझा सवालमा प्रसारित प्रधानमन्त्री देउवाको अन्तर्वार्ता सोसियल मिडियामा छाएपछि टेलिभिजन हेर्न नपाएकाहरूबीच पनि चर्चित बनेको थियो । प्रधानमन्त्रीनिवास बालुवाटारमै गएर लिइएको उक्त अन्तर्वार्ता हेर्ने धेरैलाई लाग्यो, प्रधानमन्त्री देउवा बोल्न खासै नजान्ने रहेछन्, सहनशीलता पटक्कै रहेनछ, जुन कुराको जवाफ हाँसी–हाँसी दिन सकिन्थ्यो त्यस्ता सवालमा पनि आक्रामक हुने रहेछन् । प्रधानमन्त्रीले बोलेको नबुझिने कुरा कुनै नयाँ थिएन । किन बोली बुझिएन भनेर थाहा नपाउनेहरूले व्यङ्ग्य पनि गर्ने गरेका छन् । पञ्चायतकालमा प्रजातन्त्रका लागि सङ्घर्ष गर्ने क्रममा हिरासतमा रहेका बेला प्रहरीले जिब्रोमा ‘इलेक्ट्रिक सट’ लगाएपछि शेरबहादुर देउवाको जिब्रो बोल्दा लट्पटिने भएको हो । जिब्रोले स्पष्ट बोल्न नसके पनि स्पष्ट दृष्टिकोण दिनबाट भने उहाँलाई कसैले रोक्न सक्दैनथ्यो, तर अन्तर्वार्ताको क्रममा त्यस्तो स्पष्ट दृष्टिकोण प्रस्तुत भएन । अन्तर्वार्तामा केही राम्रा कुरा आए जसलाई प्रतिप्रश्न गर्ने प्रसस्त ठाउँ हुँदाहुँदै पनि प्रस्तोताले प्रश्न गर्न चाहिनन् ।
    सोसियल मिडियामा व्यापक रूपमा प्रधानमन्त्रीको खिल्ली उडाइएको सो अन्तर्वार्तामा केही कुरा प्रधानमन्त्रीको भरपूर आलोचना गर्न लायकका छन् । कुनै पनि प्रश्नको जवाफ प्रधानमन्त्रीले स्पष्ट, पूरा र ‘ए‘हो त हई..’ भनेर भन्ने प्रकारले दिनुभएको छैन । अन्तर्वार्ता हेरेर भन्न सकिन्छ, कुशल नेतृत्वमा हुनुपर्ने धेरै गुण शेरबहादुर देउवामा रहेनछन् । सङ्गठन गर्ने क्षमता उहाँमा होला, तर आफ्ना कुरा राम्ररी अभिव्यक्त गर्न सक्ने धैर्यता उहाँमा रहेनछ । वस्तुस्थितिको सही मूल्याङ्कन र विश्लेषण गर्नबाट पनि उहाँ टाढै हुनुहुँदोरहेछ । आँखामा आँखा मिलाएर बोल्ने बानी पनि रहेनछ । जुन नेतामा हुनुपर्ने सामान्य गुण हो । धैर्यतापूर्वक अरूको कुरा सुन्ने क्षमता पनि नेतामा आवश्यक हुन्छ, त्यो पनि रहेनछ । विभिन्न प्रवृत्तिका मानिससँग सहज संवाद गर्न सकेको देखिएन । आफ्नो विचारमा अरूका विचार सामेल गराउन सक्नु नेतृत्वको गुणमध्ये एक हो, तर उहाँसँग त्यस्ता विचार खासै देखिएनन् । मुलुकको नेतृत्व गरिरहेको व्यक्तिलाई आफू कता जाँदै छु भन्ने कुरा स्पष्ट हुनुपर्नेमा हेरौँ हिँड्दै जाँदा कहाँ पुगिन्छ भन्ने सोच उहाँको रहेछ ।
    हुन त एउटा अन्तर्वार्ता हेरेर मानिसको सोच, दृष्टिकोण, इतिहास, भविष्य सबै यही नै हो या यस्तै रहेछ भनेर मूल्याङ्कन गर्न मिल्दैन । मिडियासँग प्रायः टाढै रहन रुचाउने देउवाको प्रधानमन्त्रीका रूपमा आएको अन्तर्वार्ताको टिप्पणी गर्नेहरूका लागि गज्जबको आधार सो अन्तर्वार्ताले दिएको छ । हेर्दै र सुन्दै जाँदा ‘ओहो‘यो अन्तर्वार्ता अलि अगाडि आएको भए त दोस्रो चरणको स्थानीय निर्वाचनमा एमालेले खासै मिहिनेतनै गर्नु नपर्ने रहेछ’ जस्तो लाग्ने ठाउँहरू प्रसस्त छन् । यति हुँदाहुँदै पनि प्रधानमन्त्रीलाई ‘इरिटेट’ गर्न पटकपटक सर्वोच्च अदालतसम्बन्धी प्रश्न सोधिएको देख्दा यस्तो लाग्छ कि उक्त अन्तर्वार्ता बडो नियोजित ढङ्गले लिएको हो । उहाँ प्रधानमन्त्री भएको धेरै भएको छैन, तर केही समय अघिदेखि जे–जति कुरा भए ती सबैको भागीदार शेरबहादुर देउवा नै हुन् भन्ने आशयका प्रश्न प्रस्तोतालगायत अरूले गरेका छन् । अन्तर्वार्ताभरिका दुईवटा प्रश्नमा प्रधानमन्त्री बढी आक्रोशित भएको देखिन्छ, सर्वोच्च अदालत र अक्सफोर्ड युनिभर्सिटीको प्रसङ्ग । सर्वोच्च अदालतसम्बन्धी प्रश्नमा ‘अनि शपथ खाएर न्यायाधीशहरू राजनीतिक दलका कार्यालय गए नि होइन ?’ भन्ने प्रश्न नेपाली काङ्ग्रेसका नेताभन्दा पनि एमालेका नेतालाई गरिनुपथ्र्यो । अर्को प्रश्नमा रमेश लेखकसँग म बुझ्छु के भएको रहेछ भनेर जवाफ दिँदादिँदै गरिएका प्रतिप्रश्नहरू हेर्दा यो अन्तर्वार्ता प्रधानमन्त्रीको दृष्टिकोण र भावी योजना बुझ्न मात्रै गरिएकोजस्तो लाग्दैन ।

    ‘साझा सवाल टिमले नै सहभागीहरूको छनोट गर्ने भएका कारण कतिपयले यसलाई निश्चित उद्देश्यका साथ लिइएको अन्तर्वार्ता भन्ने टिप्पणी पनि गरेका छन् । दुई जनालाई छाडेर प्रश्न गर्ने सबैको शैली यस्तो थियो मानौँ उनीहरू देशको प्रधानमन्त्रीलाई प्रश्न होइन एउटा ठूलै अपराधीलाई केरकार गरिरहेका छन् । तर, जे–जस्ता प्रश्न आए पनि तिनलाई प्रधानमन्त्रीले सहज रूपमा जवाफ दिनुपथ्र्यो, यसमा चाहिँ उहाँ चुक्नुभएकै हो ।’

    प्रस्तोताले ‘सुशीला कार्कीले झुट बोल्नुभयो होला त ? हई‘ए‘’ जस्ता शब्द र लवज ‘इरिटेटिङ’ छन् । साथै पहिरो रोकिनलाई कति जनाले ज्यान गुमाउनुपर्छ ? भन्ने प्रश्न पनि आश्चार्यलाग्दो छ । प्राकृतिक प्रकोप व्यक्ति या सरकारले गराएको हँुदैन । अरूलाई होच्याएर आफु अग्लिने सोच हाम्रा टेलिभिजन प्रस्तोताहरूमा छ, जुन सही सोच होइन । साझा सवाल टिमले नै सहभागीहरूको छनोट गर्ने भएका कारण कतिपयले यसलाई निश्चित उद्देश्यका साथ लिइएको अन्तर्वार्ता भन्ने टिप्पणी पनि गरेका छन् । दुई जनालाई छाडेर प्रश्न गर्ने सबैको शैली यस्तो थियो मानौँ उनीहरू देशको प्रधानमन्त्रीलाई प्रश्न होइन एउटा ठूलै अपराधीलाई केरकार गरिरहेका छन् । तर, जे–जस्ता प्रश्न आए पनि तिनलाई प्रधानमन्त्रीले सहज रूपमा जवाफ दिनुपथ्र्यो, यसमा चाहिँ उहाँ चुक्नुभएकै हो । कतिपय प्रश्नमा प्रधानमन्त्रीले टिप्पणी गर्ने ठाउँ हुँदाहुँदै पनि गरेको देखिएन । पाइपबाट ग्यास ल्याउने सपना बाँड्न अब तपाईंहरूले छोड्नुपर्छ भनेर एक सहभागीद्वारा गरिएको टिप्पणीमा प्रधानमन्त्री देउवाले मैले त्यस्तो भनेको छु र ? या मैले त भनेको छैन नि भन्न सक्नुहुन्थ्यो, तर उहाँ मुसुमुसु हाँसी मात्र रहनुभयो ।
    ‘मङ्सिरभित्रै चुनाव गराउने पक्षमा छु, एकैपटक पनि गर्न सकिन्छ,’ अन्तर्वार्ताको क्रममा प्रधानमन्त्रीले बोलेको सबैभन्दा महत्वपूर्ण कुरा हो यो । सङ्घीय र संसद्को निर्वाचन एकैपटक पनि गर्न सकिन्छ भन्ने कुरालाई प्रस्तोताले खासै ध्यान नदिई ‘दुईवटै हुन्छ त ?’ भन्ने प्रश्न गरियो । दुईवटा चुनाव एकै दिन सम्भव छ, यसलाई कसरी अगाडि बढाउने होला ? भनेर एकछिन छलफल गर्न सकेको भए त्यसको छुट्टै सन्देश जान सक्थ्यो । दुईवटा अलग–अलग मतपत्र र सोहीअनुरूपको तयारी गर्न सक्ने हो भने दुईवटा निर्वाचन एकै दिन गर्दा मुलुकको खर्च मात्र जोगिँदैन, समयमै चुनाव गर्न सम्भव छ । राजनीतिक दलहरूले आँट्ने हो भने निर्वाचन आयोग एकै दिन दुईवटा चुनाव गर्न सक्षम छ जस्तो लाग्छ ।
    कुशल नेतृत्वले अनेक किसिमका प्रश्न र आरोप सहज रूपमा लिन सक्नुपर्ने हुन्छ । शेरबहादुर देउवामा यसप्रकारको गुण देखिएन । तर, कहिलेकाहीँ धेरै नै ‘इरिटेट’ भएपछि हल्काफुल्का जवाफ अन्य नेताहरूले पनि दिएको पाइन्छ । एकपटक कृष्णप्रसाद भट्टराईको अन्तर्वार्ता लिँदै गर्दा तत्कालीन चल्तापुर्जा एक अन्तर्वार्ताकारले ‘तपाईं केका लागि चुनाव लड्दै हुनुहुन्छ ?’ भन्ने प्रश्न गरेपछि उहाँले ‘ह्विीस्की खान’ भन्ने जवाफ दिनुभयो । उक्त जवाफ पत्रकारका शृङ्खलाबद्ध प्रश्नबाट उब्जिएको ‘इरिटेसन’को प्रतिक्रिया थियो । जसको परिणाम पत्रकारले होइन कृष्णप्रसाद भट्टराई स्वयम्ले भोग्नुप¥यो । जुनसुकै उद्देश्यले लिइएको भए पनि मिडियासामु परिसकेपछि सार्वजनिक व्यक्तित्वले आक्रामक भएर प्रस्तुत हुनु सम्पूर्ण रूपमा आत्मघाती कुरा हो । तर, एउटै अन्तर्वार्ताका आधारमा कसैको इतिहास मेट्ने प्रयास पनि गर्न मिल्दैन ।