एस्ट्राजेनिकाको दोस्रो खोप आजदेखि लगाइदैं

437
views

काठमाडौं, ९, कार्तिक । काठमाडौंका आठवटा नगरपालिकामा आजदेखि एस्ट्राजेनिकाको दोस्रो मात्रा खोप लगाइदैं छ । जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौका आठवटै नगरपालिकामा १८ वर्ष माथिका एस्ट्राजेनेकाको पहिलो खोप लगाएकाहरुलाई आजदेखि दोस्रो डोज खोप दिइने भएको हो ।

काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो डोज खोप लगाइने भएको हो ।

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ ।

यी अस्पतालहरुमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुनेछ भने स्थानीय तहका खोप केन्द्रमा तीन दिन सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको हकमा कात्तिक १० गतेदेखि सबै वडामा खोप केन्द्र सञ्चालन हुने र आवश्यकताको आधारमा खोप लगाउने अवधि पनि थप गर्न सक्ने पनि सूचनामा जनाइएको छ ।