आज कुकुर तिहार मनाइँदै

726
views

काठमाडौं, १७, कात्तिक । यमपञ्चकको दोस्रो अर्थात तिहारको दोस्रो दिन आज कुकुर तिहार हो । आज कुकुरको पूजा गरिंदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी कुकुरलाई मीठो खान दिने परम्परा छ ।

आज कुकुरको पुजा गरे यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरुले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

कुकुर लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।

कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्राध्यापाक श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

यो वर्ष त्रयोदशी र चतुर्दशी एकै दिन आज परेको छ । त्रयोदशी भएकोले बिहान काग तिहार मनाएर सवा ७ बजेपछि कुकुर पूजा गरिँदैछ ।