पाकिस्तान टी–२० विश्व कप क्रिकेटको सेमिफाइनलमा

412
views

काठमाण्डौ – पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले गएरातिको खेलमा नामिबियालाई ४५ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

सुपर १२ को समूह दुईमा रहेको पाकिस्तानले लगातार चार खेल जित्दै पाँचौँ पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो । आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा २ विकेट गुमाएर एक सय ८९ रन बनायो । पाकिस्तानका कप्तान बाबर आजम र मोहम्मद रिजवानले अर्धशतकीय पारी खेले ।

कप्तान आजम ७० र रिजवान ७९ रनमा अविजित रहे । नामिबियाका जेन फ्रिलिंक र डेभिड वेजसले एक÷एक विकेट लिए । एक सय ९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४४ रन मात्रै बनाउन सक्यो ।

नामिबियाका डेविड वेजस सर्वाधिक ४३ रनमा अविजित रहे । क्रेग विलियम्सले ४० तथा स्टेफेन बार्डले २९ बनाए । पाकिस्ताानका हसन अली, ईमाद वासिम, हरि रौफ र शादब खानले १–१ विकेट लिए । जितसँगै पाकिस्तानले चार खेलमा आठ अङ्क बनाएको छ ।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट, दोस्रो खेलमा न्युजिल्यान्ड र तेस्रो खेलमा अफगानिस्तानलाई समान ५–५ विकेटले हराएको थियो । यसअघि समूह एकबाट इङ्ग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ।