बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

315
views

काठमाडौँ, २३, कात्तिक । बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गोरखापत्रसँग कुरा गर्दै एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताउनुभयो । उहाँले खोप खरिदका लागि मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको बताउनुभयो । ‘‘अब फाइजर र मोर्डना खोप छिट्टै आउनेछ,’’ मन्त्री खतिवडाले भन्नुभयो, “मन्त्रिपरिषद्ले खोप ल्याउने निर्णय गरेसँगै खोप आइहाल्छ ।”

सरकारले खोप खरिदका लागि रकमसमेत भुक्तानी गरिसकेको छ । मोर्डना र फाइजर खोप १२ वर्षदेखि माथिकालाई लगाउन सकिन्छ । कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ । कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध उक्त फ्रिज युनिसेफमार्फत नेपाल आएको हो । उक्त फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिन्छ । फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल, एस्ट्राजनिका, जोन्सन एन्ड जोन्सनलगायतका खोप आएका छन् । ती खोपहरू दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।

यसअघि अमेरिकाबाट कोभिडविरुद्धको एक लाख मात्रा खोप नेपाल आइसकेको छ । यसअघि एक लाख ६२० मात्रा खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट नेपाल आएको हो ।
सेनालाई तीन लाख खोप

यसैगरी, नेपाली सेनालाई चीनको जनमुक्ति सेनाले तीन लाख डोज कोभिड–१९ को खोप प्रदान गरेको छ । प्रधानसेनापति प्रभुराम शर्मालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले सोमबार उक्त सहयोग प्रदान गर्नुभएको हो ।

त्यस अवसरमा सहयोगस्वरूप उपलब्ध १० थान भेन्टिलेटर र १०० थान अक्सिजनसमेत सेनालाई उपलब्ध गराइएको छ । प्रधानसेनापति शर्माले सहयोगका लागि चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिनुभएको छ ।

उक्त खोप सैनिक कर्मचारी तथा सेनाको प्राथमिकतामा रहेका हिताधिकारी परिवारलाई प्रदान गरिने जनाइएको छ । कोभिड–१९ महामारीविरुद्धको लडाइँमा सेनालाई थप प्रभावकारी रूपमा परिचालन गर्न र जनताको सेवामा लाग्न सक्षम हुने अपेक्षा गरिएको छ ।

नेपाल–चीनबीच रहेको सम्बन्ध थप बलियो हुने विश्वास लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गोरखापत्र अनलाईनबाट