पोल्याण्डको सिमानामा हजारौं आप्रवासीको लाइन

354
views

एजेन्सी । युरोपेली मुलुकहरुमा प्रवेश गर्न चाहने हजारौं आप्रवासी पोल्याण्डको सिमानामा भेला भएका छन् । बेलारुस हुदै पोल्याण्डतर्फ अघि बढिरहेका आप्रवासीहरु पोल्याण्डको पूर्वी सिमानामा भेला हुने क्रम जारी छ ।

आप्रवासीहरुलाई रोक्न पोल्याण्ड सरकारले १२ हजार भन्दा बढी सैनिक परिचालन गरेको छ भने बेलारुसंगको सिमाना बन्द गरेको छ । आप्रवासीहरुले सिमानामा लगाइएको काँडेतारको बार तोड्ने कोशिस गरिरहेको भिडियो सार्वजनिक भईरहेका छन् ।

त्यसरी जबर्जस्ती पोल्याण्ड छिर्न चाहने आप्रवासीहरुमा अधिकांश खाडी र एशियाली मुलुकका भएको जनाइएको छ । पोल्याण्डले बेलारुसमाथि आप्रवासीहरुलाई पोल्याण्ड जान प्रोत्साहित गरेको आरोप पनि लगाएको छ । पोल्याण्ड मात्रै नभई लिथुआनिया र लाट्भियाले पनि बेलारुसमाथि आप्रवासीहरुलाई सिमानातर्फ पठाएको आरोप लगाएका छन् ।

युरोपेली युनियनको नाकाबन्दी खेपिरहेका बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले आप्रवासीहरुको ओइरोलाई अन्य देशतर्फ पठाईरहेको आरोप युरोपेली युनियनले लगाएको छ । पोल्याण्डले आप्रवासी र शरणार्थीहरुलाई रोक्नका लागि सिमानामा कठोर कदमहरु चालेकाले सिमानामा भेला भएका आप्रवासीहरुको सुरक्षाको प्रश्न पनि उठेको छ ।

जिरो डिग्रीको चिसोमा जंगल क्षेत्रमा कैयौं आप्रवासीहरु अलपत्र परेको र आवश्यक तातोको अभावमा कैयौंको ज्यान गईसकेको अनुमान पनि गरिएको छ । विभिन्न देश हुदै बेलारुप पुगेका आप्रवासीहरुले सामाजिक सञ्जाल मार्फत समूह बनाएर पोल्याण्ड छिर्न सिमानातर्फ आएको बताएका छन् ।

उता, लिथुवानिया सरकारले आप्रवासीको ओइरो लाग्ने देखिएको भन्दै सिमा क्षेत्रमा संकटकाल लागू गर्दै बेलारुसंगको सिमानामा सेना पठाएको छ । यस्तै नेटो गठबन्धनले सिमानाको सुरक्षा गर्न तत्पर रहेको बताएको छ ।