कात्तिक २५ देखि हुने राष्ट्रिय जनगणनाको तयारी पुरा

656
views

काठमाडौँ, २४, कात्तिक । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणना २०७८ को सबै तयारी पूरा भएको छ । बिहीबारबाट सुरु हुने राष्ट्रिय जनगणना २०७८ को तयारी पुरा भएको विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले जानकारी दिए ।

जनगणनाका लागि आठ हजार पाँच सय सुपरिवेक्षक र ३९ हजार जना गणक तयारी अवस्थामा छन् । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको र सोको आधारमा जनगणना गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

बिहीबार बिहानैदेखि सबै गणकले घरघरमा पुगेर जनगणनाको कार्य सुरु गर्न मात्र बाँकी रहेको छ । यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूल प्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली तयार गरिएको छ । उक्त प्रश्नावलीले समग्र कृषि क्षेत्रको विवरण, बैङ्कमा किसानको पहुँच, व्यक्तिगत विवरण, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, सामाजिक आर्थिक विषय, जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण आउनेछ ।

यस वर्षको जनगणनाका लागि सरकारले ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा तय गरेको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गरी हुन लागेको जनगणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका संरचना तयार गरिएको छ ।

यस वर्षको जनगणनाबाट वडाभित्रको जातजाति, धर्म, सेवाप्रवाह, राज्यले प्रदान गर्ने सुविधामा नागरिकको पहँुचलगायतका स्पष्ट रूपमा तथ्याङ्क आउने गरी प्रश्नावली तयार गरिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए ।

जनगणनाका क्रममा एक जना गणकले करिब १५० घरसम्म पुग्नुपर्ने गरी कार्यतालिका निर्माण गरिएको छ । नेपालमा हरेक १०÷१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ ।