भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तेस्रो चरणको टेन्डर प्रक्रिया पूरा

517
views

सुर्खेत,२६ कार्तिक । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तेस्रो चरणको काम गर्न आयोजना कार्यालयले टेन्डर प्रक्रिया पूरा गरेको छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रो मेकानिकल (ईएम)संरचनाहरूको खरिद व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाइएको हो ।

तेस्रो चरणअन्तर्गत हाइड्रोमेकानिकलतर्फको कामका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बताए । ‘निर्माण कम्पनीलाई हामीले सम्झौताका लागि पत्र काटेका छौं,’ उनले भने, ‘एचएमको कामका लागि सम्झौतासँगै ईएमको टेन्डर पनि स्वीकृत हुन्छ ।’ तेस्रो चरणको इलेक्ट्रोमेकानिकलतर्फको कामका लागि पनि १५र२० दिनभित्र टेन्डर स्वीकृत हुने गरी प्रक्रिया सुरु गरिएको सुवेदीको भनाइ छ ।

यसअघि तेस्रो चरणअन्तर्गत हाइड्रोमेकानिकल संरचनाहरूको खरिदका लागि आयोजनाले टेन्डर आह्वान गरेको भए पनि सर्वोच्च अदालतले निषेधाज्ञा पूर्ण रूपमा खुलेपछि मात्रै प्रक्रिया अगाडि बढाउन आदेश दिएपछि मिति सरिरहेको थियो । समय सामान्य भएपछि तेस्रो प्याकेजअन्तर्गतको कामका लागि प्रक्रिया अगाडि बढाइएको सुवेदीले बताए ।

हाल दोस्रो चरणअन्तर्गत सिभिल संरचनातर्फका काम भइरहेका छन् । अहिले सिभिलअन्तर्गत हेडवर्क्स, पावर हाउस ९विद्युत् गृह०, बाँध ९कफर ड्याम० र सर्ज साफ्टको काम भइरहेको हो । लामो समय वर्षाका कारण बाँधको काम भइरहेको स्थानमा पानी जम्मा भएर काम गर्न समस्या भएको सूचना अधिकारी सुवेदीले बताए । ‘पम्पिङ गरेर जम्मा भएको पानी निकालेपछि कामलाई तीव्रता दिइनेछ,’ उनले भने, ‘बबईतर्फ पावर हाउसको काम भइरहेको छ ।’

आयोजनाको दोस्रो प्याकेज अन्तर्गत कामको जिम्मा रमणरग्वाङडोन जेभीले लिएको छ । उक्त निर्माण कम्पनीले अघिल्लो वर्ष साउन १५ गते ६ अर्ब १६ करोड ५२ लाख १६ हजार रुपैयाँमा कामको सम्झौता गरेको थियो । दोस्रो प्याकेजअन्तर्गतका संरचना २०८० साउन २९ गतेभित्र सम्पन्न गर्ने आयोजनाले लक्ष्य लिएको छ । तर कोरोना भाइरसका कारण भएको लकडाउन तथा निषेधाज्ञाले गर्दा भेरी–बबईको दोस्रो चरणको कामदेखि नै मार परिरहेको छ ।

तेस्रो चरणमा एचएम र ईएमसँगै अन्य विद्युतीय काम पनि हुने सुवेदीले बताए । पहिलो र दोस्रो चरणको गरी हालसम्म आयोजनाको ४९ प्रतिशत काम भएको छ । आयोजनाका विभिन्न क्षेत्रमा गरी करिब ७ सय जना मिस्त्री, कामदार तथा आयोजनाका कर्मचारी खटिएको उनले जानकारी दिए ।