प्रचण्डले भने ‘एमालेको कुम्भ मेलामा विचारलाई महत्व नै छैन’

438
views

काठमाडौं, ११, मंसिर । ’नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको १० औं महाधिवेशनप्रति कटाक्ष गर्दै ‘तपाईँहरूले देख्नु नै भएको छ कुम्भमेलामा विचारलाई कुनै महत्व नै छैन,’ ‘यसरी पनि महाधिवेशन हुनेरहेछ । हाम्रो राष्ट्रिय सम्मेलन अरू पार्टीको महाधिवेशनसँग तुलना नै हुन सक्दैन ।’

पार्टीको ७५३ पालिका सम्मेलनलाई शनिवार भर्चुअल सम्बोधन गर्दै प्रचण्डले माओवादी र त्यसको नेतृत्वमाथि प्रतिक्रियावादी, अवसरवादी, संशोधनवादी, प्रतिक्रान्तिकारी सबैले तारो बनाएको भन्दै परिवर्तनका उपलब्धि र रक्षाका निम्ति सबै एकजुट हुनुपर्ने बताए ।

‘कुनै न कुनै रूपमा माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरू र यसले अगाडि ल्याउन खोजेका समाजवादी आन्दोलन, समाजवादी अभियानलाई निस्तेज पार्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्वहरू लागेका छन् । यसलाई चिर्ने चुनौती पनि छ । यो एउटा अवसर र चुनौती दुवै हाम्रासामु खडा छ’ प्रचण्डले भने, ‘हामी एकतावद्ध भएर जाँदा यो सामना गर्न सकिन्छ । यसमा हामी सबै एकजुट भएर लागौं ।’

उनले मार्क्सवाद, लेनिनवाद र माओवादी विचारधारालाई आत्मसात् गर्दै अघि बढ्न निर्देशन दिए । उनले एमालेको १०औं महाधिवेशनमा विचारलाई निषेध गरिएको टिप्पणी गरे ।