पूर्णबहादुर खड्का र धनराज गुरुङ काँग्रेस उपसभापति निर्वाचित

512
views

काठमाडौं, १, पुस । नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार भएको उपसभापतिको मतगणनामा अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै खड्का र गुरुङ विजयी भए ।

उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदारले १८ सय ६१ मत प्राप्त धनराज गुरुङसँग नौ मतले पारजित भएका छन् । निर्वाचन समितिका अनुसार खड्का दुई हजार ७६ र गुरुङ १८ सय ६९ मत ल्याएर विजयी भएका हुन् ।

त्यसैगरी चन्द्र भण्डारीले १५ सय ५१ मत पाए । उपसभापति पदमा महेश आचार्य, सुजाता कोइराला र दिव्यश्वरी शाह ठूलो मत अन्तरले पराजित भए ।

यसअघि नै पार्टी सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री र अन्य पदाधिकारीको मतगणना भने बिहीबार बिहानदेखि हुनेछ ।

पार्टी सभापतिका लागि दोस्रो चरणमा भएको मतदानबाट शेरबहादुर देउवा निर्वाचित भएका छन् । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार बढी मत पाउने शेरबहादुर देउवा र डा. शेखरप्रसाद कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानमा देउवा सभापति निर्वाचित भएका हुन् ।