मन्त्री थापाद्वारा ल्होसारको शुभकामना

448
views

पोखरा, १५, पुस । गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले तमु ल्होसारको उपलक्ष्यमा गुरुङ समुदायलाई शुभकामना व्यक्त गर्नुभएको छ । ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना विज्ञप्ति प्रकाशित गर्दै थापाले तमु ल्होसारको अवसरमा देशमा शान्ति, अमन चयन, चौतर्फी विकास होस् भन्ने कामना गर्नुभएको हो । उहाँले साँस्कृतिक विविधता भएको मुलुकमा सवैखाले सँस्कृतिलाई फुल्न फल्न दिईनुपर्ने उल्लेख गर्नुभएको छ ।

विविध खाले सँस्कृतिले देशको आन्तरिक शक्तिलाई मजवुद बनाउने उल्लेख गर्दै मन्त्री थापाले यो पर्वले सामुदायिक सद्भाव वृद्धि गर्न सघाउ पुर्याउने बताउनुभयो ।

आज गुरुङ समुदायले आफ्नो महान् चाड तमू ल्होसार विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छन । गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार गाई बर्ग (बर्ष) लाई बिदाई र बाघ बर्ग (बर्ष) लाई स्वागत गरी गुरुङ समुदायले तमू ल्होसार पर्व मनाउँछन ।

मन्त्री थापाले धर्म निरपेक्षताको सुन्दर पक्ष भनेको सबैखाले धर्म र सँस्कारले समान हैसियत पाउने भएको बताउँदै नेपालको संविधान २०७२ को महत्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता रहेको बताउनुभयो । उहाँले गुरुङ समुदायले परम्परादेखि पुस १५ का दिन मनाउँदै आएको यस पर्व नेपाली सांस्कृतिक परम्पराका लागि उदाहरणीय रहेको उल्लेख गर्नुभयो ।